Logo

कच्चा पदार्थको मूल्य बढ्काले खाने तेलको मूल्य वृद्धि



काठमाडौं, भदौ ३१ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ ।

नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिडपछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो । सङ्घको विज्ञप्तिअनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मे महिनामा प्रति मेट्रिक टन १३६३ डलर पुगेको छ ।

यस्तैगरी, प्रतिमेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मूल्य २०२१ को मे महिनामा मा १४९५ डलर पुगेको छ । एक वर्षमा असामान्यरूपमा कच्चा पदार्थको मूल्यमा वृद्धि भएको सङ्घले जनाएको छ ।

यस्तै सङ्घले जुलाईमा कच्चा पदार्थको मूल्य केही घटे पनि पछिल्लो समय बढेको जनाएको छ । अर्जेन्टिनाको क्रुड सोयाबिन तेलको मूल्य घटेर १०९५ र क्रुड सनफ्लावर युक्रेन तेलको मूल्य ११६० भएको थियो ।

सङ्घले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा उद्योगीसँग पर्याप्त मात्रामा स्टक रहँदासमेत वाणिज्य विभागको निर्देशनमा तेलको मूल्य घटाइएको जनाएको छ । सङ्घका अनुसार पछिल्लो समय प्रतिमेट्रिक टन २०० देखि २४० डलरसम्म तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको छ । “अन्तर्राष्ट्रियरूपमा नै कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपाली बजारमा मूल्य वृद्धि भएको हो ।

गत अगष्ट २० को रिपोर्टअनुसार सोयाबिन तेल १३२७ र सनफ्लावरको कच्चा पदार्थको क्रुड मूल्य १३३० अमेरिकी डलर भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय नेपाली बजारमा खाने तेलको मूल्यमा वृद्धि भएपछि नियामक निकायका रूपमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा उपभोक्ता अधिकारकर्मीले चासो देखाउन थालेका छन् । विभागले केही समयअघि तेल उद्योगको अनुगमन गरेर मूल्य बढ्नुको कारण सार्वजनिक गर्नसमेत निर्देशन दिएको थियो ।

नेपालमा हाल २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योग सञ्चालित अवस्थामा छन् । सो उद्योगले तेलका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशहरुबाट आयात गर्दै आएका छन् । नेपालमा तेल प्रशोधन गरी उद्योगीले अन्य देशमा समेत निर्यात गर्दै आएका छन् ।(



प्रतिक्रिया दिनुहोस्

Screenshot