Logo

चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न हुम्ला पुगेको टोली फर्कियो



काठमाडौं, १ असोज । चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित टोली हुम्लाबाट फर्किएको छ । टोलीले समस्या उठेका विभिन्न क्षेत्रमा सीमा स्तम्भ र क्षेत्रको अध्ययन अवलोकन गरेर फर्किएको छ ।

मौसम प्रतिकूलताका कारण उचाईमा रहेको ३, ४ र ११ नम्बरको पिलरमा नपुगी फर्किएको हो । टोली आजै हिल्सा पुगेको थियो । त्यहाँबाट हेलिकप्टरबाट बाँकी पिलरको अध्ययन गर्न खटिएपनि टाकुले भन्ने स्थानमा हावाको वेगका कारण फिर्ता भएको बुझिएको छ ।

२७ भदौबाट टोलीले अध्ययन सुरु गरेको थियो । आज टोली सिमिकोट हुँदै सुर्खेत पुगेको छ ।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित अध्ययन कमिटीमा नापी विभागका दयानन्द जोशी र कपिल कटवाल थिए । उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल र सुशील डंगोल पनि टोलीमा थिए ।

टोलीले सबैभन्दा चासो १२, ५ र ६ नम्बर पिलरमा राखेको थियो । सीमा स्तम्भमै जोडेर तारबार र गेट राख्ने गतिविधिहरु भएको अवलोकनका क्रममा खुलिसकेको छ ।

तर, टोलीले प्रतिवेदन बनाउन समय लाग्ने भएकाले यथार्थ जानकारी आउन समय लाग्ने बुझिएको छ । चीनसँगको सीमा समस्याबारे टोलीले सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।

किट, लाप्चा भञ्ज्याङ, लिमीको टाकुल्ले क्षेत्र, गुप्पुदोचामा सीमा अतिक्रमण भएको देखिएको छ । लोलुजोङमा चीनले पूर्वाधार निर्माण गरेको छ । उसले त्यहाँ सुरक्षाकर्मी तैनाथ गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot