काठमाडौं, असोज २ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीतिक गतिरोधको निकास खोज्ने जिम्मेवारी सत्तापक्ष र प्रतिपक्ष दुवैको भएको बताएका छन् । दुवै पक्षले द्वन्द्व छाडेर सहमतिसाथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “सधैंभरि द्वन्द्व गरेर संसद् चल्दैन । संसद् कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा संविधान, कानुन र नियमावली छ । अब सहमति कायम गरेर अघि बढ्नुपर्छ । यसमा सत्तापक्षले पहल गर्नुपर्छ । सभामुखले समन्वय गर्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुनुपर्छ ।”
नेता ज्ञवालीले आफूहरु माधव नेपालले आह्वान गर्दैमा अर्को पार्टीमा नजाने दृढता व्यक्त गरे । उनले भने, “पार्टीभित्र १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको छ, केही ठाउँमा समस्या छन् । भोलिको स्थायी समिति बैठकमा यसबारे छलफल हन्छ । सानातिना विवादमा हामीले एमाले छाडेर जाने कुनै सम्भावना छैन । हामीले साथीहरुलाई फर्केर आउनोस् भनेका छौं, उहाँहरुले पनि यतै आउनुस् भन्नुभएको छ । राजनीतिमा यो स्वाभाविक हो ।” उनले सबै ठाउँका साथीहरु अर्को पार्टीमा गए पनि एमाले कमजोर नभएको बताए ।
सत्तापक्षले एमसीसी टेबल गरेपछि पार्टीभित्र यसबारे गहन छलफल हुने बताए । उनले भने, “एमसीसी मुख्यतः सत्तापक्षको जिम्मेवारी हो, संसद्मा टेबल भइसकेपछि एमालेले जिम्मेवारीपूर्वक सोच्छ ।” file photo