Logo

संखुवासभा हत्याकाण्ड योजनावद्ध, घाँटी बटार्दै छुरा र चिर्पटको प्रयोग



काठमाडौं, ४ असोज । संखुवासभामाको मादी नगरपालिकाको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या योजनावद्ध तरिकाले भएको खुलेको छ । हत्याको योजना अघिल्लो रात नै बनाएर परिवार नै सिध्याउने गरी भएको खुलेको हो ।

प्रहरीले आज संखुवासभामा पत्रकार सम्मेलन गरेर घटनामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ । घटनाका मुख्य योजनाकार यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की भएको खुलेको छ ।

प्रहरीले पत्रकार सम्मेलनमा लोकबहादुरको घरमा अघिल्लो रात भेला भएर योजना बनाइएको जानकारी दिएको छ । तेजबहार र उनकी पत्नी कमला कार्कीको हत्या गरी नगद तथा गरगहना लुट्ने योजना बनाएर ५ जना विहानैबाट हतियारसहित तयार भएको खुलेको छ ।

हत्यामा संलग्न लोकबहादुर कार्की, खड्गबहादुर कार्की, नरेश कार्की र हस्तबहादुर कार्की भाद्रमा तीनपिप्ले स्थित खेलमा काम गर्ने तय भएको थियो । तर, खेताला डाकिएका उनीहरु हत्यारा परिणत भएका थिए । घटनामा लोकबहादुरका बाबु रणबहादुर कार्की पनि सहयोगी रहेको खुलेको छ ।

तेजबहादुर लोकबहादुरलाई घरमै बोलाउन गएका थिए । बोलाएर उठेपछि उनी फर्किएर घरतर्फ लागेका थिए । घरतर्फ आउँदै गर्दा ४ जनाले  एक्कासी आक्रमण भएको थियो । चिर्पट र छुरा समेत प्रयोग गरी तेजबहादुरको हत्या भएको थियो ।

लोकबहादुरले गुहार मागेपछि तेजबहादुरकी पत्नी कमला कार्की र बुहारी रञ्जना कार्की घटनास्थल पुगेका थिए । उनीहरुलाई पनि छुरा प्रहार गरी हत्या गरेका थिए । दुवै महिलालाई अभियुक्तहरुले निर्ममतापूर्वक हत्या गरेको खुलेको छ ।

तीन जनाको हत्या पछि अभियुक्तहरुले बालबालिकालाई समेत देखे । उनीहरुलाई बाटो छेकेर चिपर्टले हिर्काउन थाले । बालबालिका कोकोहाल गर्दै भाग्न थाले । उनीहरुलाई छेकी छेकी हस्तबहादुर र लोकबहादुरले घेरा हाले । लोकबहादुरले चिर्पटले हान्न थाले । घाइते बालबालिकाको घाँटी बटारे निर्ममतापूर्वक हत्या गरे ।

पाँच जनाको हत्या पछि धनमाल लुट्ने उद्देश्यका साथ घरमा पुगे । त्यहाँ ८४ वर्षीया वृद्धा पार्वती कार्की मकैं नंग्याई रहेकी थिइन् । उनलाई समातेर तान्दै घर पछाडि गोठमा लगी टाउको ठोक्याउन थाले । लोकबहादुर आक्रामक रुपमा प्रस्तुत भए । उनले घाँटी बटारेर वृद्धाको हत्या गरे ।

घटनामा यसअघि चिर्पटमात्र प्रयोग भएको भनिएपनि छुरी समेत प्रयोग भएको तथ्य खुलेको थियो । यसैका आधारमा अन्य अभियुक्तहरु पक्राउ गरिएका थिए ।

हत्यापछि पनि उनीहरु भेला भई योजना बनाएका थिए । प्रहरीले अनुसन्धान गर्न आए घटना लुकाउने योजना बनाए । यति प्रहरीले अनुसन्धान गरी पत्ता लगाएमा लोकबहादुर कार्की एक्लैले गरेको सकारेर बच्ने योजना बनाएको खुलेको छ ।

२१ भाद्रको विहानै मौका छोपेर तेजबहादुर कार्की, उनकी पत्नी कमला कार्की, बुहारी रञ्जना कार्की, नाति दिपेन कार्की र नातिनी गोमा कार्कीका अलावा ८४ वर्षीया आमा पार्वती कार्कीको हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot