Logo

‘ओलीको सरकार अगाडि बढेको भए यो संविधानको अत्येष्टि मैले धेरै छिटो देखिराखेको थिएँ’ : संविधानविद् डा. आचार्य (भिडिओसहित)



काठमाडौं, ४ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालमा संघीयता असफल प्रमाणित भएको दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपालमा संघात्मक प्रणाली असफल भएको दाबी गरेका हुन् । उनले देशमा लोकतन्त्रको विकल्प नभएको बताए ।

उनले संविधान र लोकतन्त्रप्रति जवाफदेही नभएका नेताहरुलाई जनताले अब फाल्नुपर्ने बताए । उनले शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु अब शासन गर्न लायक नभएको पनि टिप्पणी गरेका छन् । ती सबै नेताहरु नेपालमा परीक्षण भैसकेको उनको भनाई छ । उनले देशमा विद्यमान व्यवस्थालाई भन्दा पनि पात्रहरुलाई विदाई गर्नुपर्ने पनि बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अघि बढिरहेको भए नेपालको संविधानको धेरै छिटो अन्त्य आफूले देखेको पनि स्मरण गराए । उनले भने,‘मुलुक एकखालको मुठभेडमा जाँदै थियो, नेपाली सेना पनि विवादमा आउने खतरा मैले देखिरहेको थिएँ । त्यो मुठभेडले अन्यत्र लैजाने सम्भावना देखिन्थ्यो ।’ उनले अहिलेपनि दुई÷तीन वटा चिन्ताजनक विषय आएको स्मरण गराए ।

उनले भने,‘संविधानमा जसले हिजोदेखि आजसम्म असहमति राखे, त्यो संविधानको चिन्ताको विषय होईन । संविधानमाथि असहमति राख्न पाउनु भनेको त्यो संविधानको हक हो । त्यो संविधानको विशेषता हो । तर, जसले हिजो यो संविधान पारित गर्न हामीलाई उकासे, सहयोग गरे, उनीहरुले अब यो संविधान पुगेन, यसमा थप कुरा लेख्नुपर्छ भन्दा आन्दोलनको घोषणा गरेको मैले सुनें । यो भन्दा ठूलो रहस्यमय के हुन्छ ? ’



प्रतिक्रिया दिनुहोस्