Logo

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने



सिन्धुपाल्चोक, असोज ५ । असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ ।

बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

सरकारले काठमाडौं उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजना पुनर्निर्माणलाई अगाडि बढाउन समितिलाई निर्देशनसहित तत्कालका लागि १ अर्ब रुपैयाँ उपलब्ध गराइसकेको छ ।

समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरण थाल्न २ अर्ब रुपैयाँ माग गरेकोमा सरकारले कार्ययोजनाअनुसार नै तत्कालका लागि एक अर्ब निकासा गरेको हो । प्रवक्ता पन्तले यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा वितरण गर्नेगरी तयारी भइरहेको बताए ।

सरकारले आयोजनाको हेडवक्र्ससम्म पुग्ने बाटो खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ । आयोजना प्रमुख वासुदेव पौडेलले मेलम्ची बजारदेखि हेडवक्र्ससम्मको २२ मध्ये ८ किमी सडक पूर्णरूपमा क्षतिग्रस्त भएकाले ट्र्याक खोल्ने जिम्मा सेनालाई दिन छलफल भइरहेको बताए । ‘निर्माण कम्पनीलाई दिने हो भने वर्ष दिनमा पनि ट्र्याक खोल्न सम्भव देखिँदैन,’ उनले भने, ‘यस विषयमा तत्काल सरकारलाई जानकारी गराएर निर्णय लिन्छौं ।’

हेडवर्क्स निर्माण गर्दै आएको निर्माण व्यवसायीले मेलम्चीको बहाव घट्नेबित्तिकै नदीको किनारैकिनार निर्माण सामग्रीलगायत ठूला मेशिन अम्बाथान पु¥याउन तयार रहेको बताउँदै आएका छन् । ‘आयोजनालाई त खास क्षति पु¥याएको छैन,’ उनले भने, ‘विभिन्न निकायसँग समन्वय गरेर बाटो सडक बनाउने काम तत्काल सुचारु गर्छौं ।’ हेलम्बुको किउल क्षेत्रमा निर्माण भइरहेको करीब ८ किमी सडक पछिल्लोपटक आएको बाढीले क्षतिग्रस्त बनाएपछि आयोजना सम्पन्न हुनेमै अन्योल सृजना भएको प्रमुख पौडेलले बताए ।

बाढीले मुहान नजिकैको इन्जिनीयरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको थियो । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक जना चिनियाँ र दुई जना भारतीयको मृत्यु भएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot