Logo

ओली अमेरिका र भारतसँग रुष्ट, चीनसँग सन्तुष्ट



काठमाडौं, ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भारत र अमेरिका प्रति असन्तुष्टि पोखेका छन् । उनले पुराना घटना उल्लेख गर्दै भारतमाथि संविधान जारी गर्नबाट रोक्न खोजेको आरोप लगाएका छन् । अमेरिका अफगानिस्तानमा पराजित भएको विश्लेषण गर्दै भूराजनीतिक अवस्था र सम्भावनाबारे उल्लेख गरेका छन् ।

ओलीको प्रतिवेदनमा भारतले २०७२ सालमा संविधान जारी गर्न रोक्न खोजेको उल्लेख छ । संविधान जारी गर्न लाग्दा १ असोज २०७२ मा भारतका तत्कालीन विदेश सचिव एस जयशंकर विशेष दूत बनेर आएको र संविधान जारी नगर्न धम्की दिएर गएको प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिले जयशंकर भारतका विदेशमन्त्री छन् ।

अफगानिस्तानको घटनाबारे पनि ओली बोलेका छन् । उनले अमेरिका अफगानिस्तानबाट हट्नुलाई उसको पराजय भन्दै विश्लेषण गरेका छन् । राजनीतिक प्रतिवेदनमा अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको जस्तै पुनरावृत्ति भनेका छन् । यसलाई अमेरिकाको ठूलो असफलता र पराजय भनेका छन् । अफगानिस्तानको घटनाको बाछिटा दक्षिण एशियामा पर्न सक्ने सम्भावना पनि औल्याएका छन् ।

ओलीको प्रतिवेदनमा चीनसँग सम्बन्ध विस्तारमा जोड दिइएको छ । तर, भारतसँग सीमा समस्याको कुरा उठाइएको छ । उनले चीनसँग सीमा समस्याको कुनै विषय उल्लेख गरेका छैनन् । ओली आफैले चीनसँग कुनै सीमा समस्या नभएको भन्दै आफ्नो सरकारका पालामा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिको बचाऊ विगतमै गरिसकेका छन् ।

राजनीतिक प्रतिवेदनमार्फत् ओलीले विदेश सम्बन्धमा चीनसँगको निकटता र सम्बन्ध विस्तारको सन्देश दिएका छन् । तर, भारतसँग उनको असन्तुष्टि प्रकट भएको छ । अमेरिका अफगानिस्तानमा पराजित भएको शब्द नै उल्लेख गरेका छन् । यसबाट उनी चीनसँग सन्तुष्ट देखिएका छन् । भारत र अमेरिकासँग असन्तुष्टि प्रकट गरेका छन् ।

आफ्नो नेतृत्वको सरकार ढल्नुमा पनि उनले भूराजनीतिक असर रहेको संकेत गरेका छन् । उनको संकेत अमेरिका र भारतप्रति छ । यी देशप्रति उनी पछिल्लो समय कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । विगतमा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गराउन आफै सक्रिय देखिएका ओली पछिल्लो समय पछि हट्न खोजेका छन् । यसलाई उनको यु टर्न मानिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँगको सीमा समस्याबारे अध्ययन कमिटी गठन गरेकोमा पनि ओलीले आपत्ती जनाएका थिए । उनले कसैलाई खुशी पार्न यसो गरिएको भनेका थिए । भारत र अमेरिकालाई खुशी पार्न देउवाले यो कदम चालेको ओलीको आशय थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्