काठमाडौं, ६ असोज । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् ।
उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीब्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गर्नुभएको बताए । मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका तामाङले आफूलाई नेता तथा कार्यकर्ताको साथ रहेको बताए। “सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरुको चाहना र इच्छाबमोजिम नेतृत्वका लागि तयार छु”, उनले भने ।
सिन्धुपाल्चोक कांग्रेसका पूर्वसचिवसमेत रहनुभएका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । कांग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि आफ्नो नेतृत्व जिल्लाले खोजिरहेको तामाङको दाबी छ । “कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीका रुपमा अगाडि बढाउनु जिल्लामा कांग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्न सभापतिको उम्मेदवार हुन लागेको हुँ,” उनले भने । साथै तामाङले गाउँपालिका अध्यक्षमा नदोहोरिने बताए।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि सभापतिमा दाबी गर्नुभएको छ । देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बन्नुभएको शेर्पा जिल्ला सभापतिको तयारीमा लागेका हुन् । उनले केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर कांग्रेसको सङ्गठन नै धरापमा परेकाले आफ्नो उम्मेदवारी गुटरहित कांग्रेस बनाउन रहेको बताए ।
जिल्लामा हालसम्म धेरैले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्वसचिव कृष्णप्रसाद न्यौपाने, पूर्वसभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामासमेत सभापतिको आकाङ्क्षी देखिएका छन् ।
पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।