Logo

‘अब प्रधानमन्त्रीज्यूले जति चाँडो मन्त्रीको नाम माग्नुहुन्छ, त्यति चाँडो हामीले नाम दिनेछौं’ : खतिवडा (भिडिओसहित)



नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले आगामी निर्वाचनसम्म नै अहिलेको गठबन्धन जाने दाबी गरेका छन् । उनले आफूहरु चाँडै नै सरकारमा सहभागी हुने पनि स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता खतिवडाले अहिले आफूहरुले यो मन्त्रालय चाहिन्छ भनेर नमागेको पनि जिकिर गरे । कुराकानीको क्रममा उनले भनेका छन्–‘यही मन्त्रालय भन्ने छैन् । सहमतिको आधारमा होला । एउटा सिद्धान्तमा जानुपर्छ । यो दाबी भन्ने कुरा अहिले प्रचार गर्ने कुरा होइन ।’ प्रस्तुत छ नेता खतिवडासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ, बैठकमा के भइरहेको छ ? एजेन्डा के छन् ?

बैठक हिजोदेखि सुरू भएको छ । छलफल अगाडि बढेको छ । आज बेलुकासम्म सकिन्छ । हामी अहिले एउटा राजनीतिक प्रतिवेदनमाथि छलफल गरिरहेका छौं । अब आज केन्द्रीय कमिटी विस्तार गर्ने, कार्यविभाजन विस्तार गर्ने एजेन्डामा र आवधिक रुपमा कार्ययोजना बनाएर पार्टीको कार्यक्रम अभियान गर्ने सन्दर्भमा विभिन्न कार्यक्रमहरु गर्दैछौं ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ, त्यो प्रतिवेदनमा के–के छ ?

राजनीतिक प्रतिवेदनमा पार्टीलाई दिशाबोध गर्ने, नेकपा (एकीकृत समाजवादी) कुन बाटोमा जान्छ भन्ने दिशाबोध गर्ने कुराहरु छन् । पहिलो कुरा त कम्युनिष्ट आन्दोलनमा देखापरेको दक्षिणपन्थी विचलन र विखण्डनवादको विरुद्धमा क्रान्तिकारी पँक्तिलाई संगठित गर्ने र आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा निर्माण गर्ने उद्देश्यजस्ता कुुरालाई विभिन्न कोणबाट ब्याख्या गरिएको छ । दोस्रो, नेपालको विकासको मोडालीटी, नेपालमा राजनीतिक दल सञ्चालन गर्ने प्रणाली र यसका सोचहरुमा केही परिवर्तन आउने चिजहरु लेखिएको छ । तेस्रो पक्ष समसामयिक विश्लेषण गरिएको छ । देशको संविधान र संसद्को रक्षा गर्नको निम्ति दलीय सहकार्यहरु र किन हामी प्रतिगमनको विरुद्धमा जुध्यौं ? किन हामी अग्रगमनको लागि पाँच दलीय गठबन्धन निर्माण गरेर अघि बढ्यौं ? यी कुरालाई सही थियो भन्ने कुरा त्यसमा पुष्टि गरिएको छ । साथै, अब भविष्यको नेपाललाई नेतृत्व गर्नको निम्ति हाम्रो पार्टीले युवा, विधार्थी, महिला आदी जस्ता नयाँ पुस्ताका जनतालाई योगदान पुर्याउने भन्ने कुरालाई प्रष्ट पारिएको छ ।

माधवकुमार नेपालले चुनावसम्म वाम–लोकतान्त्रिक गठबन्धन गरेर जानुपर्छ भन्नुभएको छ, त्यो कति सम्भव छ ?

सबैलाई कन्भिन्स गर्न लाग्ने हो । देशको राजनीतिक चूनौति निम्न प्रकारका छन् र यसलाई सामना गर्न निम्न कामहरु गर्नपर्छ भन्ने एजेन्डा दुनियाँकोसामु प्रस्तुत गर्ने हो । नेपालको संविधानले नेपालले हामीलाई समानुपातिक निर्वाचन प्रणालीले जनतासँग लोकप्रियता पाएको सबै दलहरुलाई कुनैन कुनै ठाँउ र भूमिकामा संसद्मा पुर्याउने छन् । ती संसद्मा पुगेका दलहरुको सहकार्यले मात्र सरकारको स्थिरता, ५ वर्षसम्म रहने कुराको टुँगो लगाउने त्यसकारण त्यो सहकार्यको संस्कार निर्माण गर्न चुनावमा पनि सहकार्य गरेर जानुपर्छ भन्ने हाम्रो कुरा हो । कसले गर्ला ? कसले नगर्ला मनाउन समय लाग्ला । तर, हाम्रो उद्देश्य भनेको चुनावसम्म वाम–लोकतान्त्रिक गठबन्धन हो ।

तर, नेपाली काँग्रसले भनिसक्यो कि गठबन्धन चुनावसम्म जान असम्भव छ भनेर, के यो सम्भव होला ?

अब अस्विकार गर्यो भनेको कुरा अफिसियल रूपमा आएको छैन् । काँग्रेसले अस्विकार गर्छ भन्ने कुरा मलाई लागेको छैन् । किनभने मुल रूपमा अब नेपाली काँग्रेस आफ्नो ढंगले हिँड्छु भन्ला । तर, आज जुन सहकार्यले हामी यो ठाँउमा पुग्यौं । प्रतिगमनका विरुद्धमा जुन सहकार्यमा आयौं । दल सानो होस या ठुलो होस, व्यक्ति होस वा समूह होस । राष्ट्रप्रति बफादारिता निर्वाह गर्ने शक्तिले जहिलेपनि राम्रो काम गर्छ । यसबाट राम्रै हुन्छ भन्ने कुरा उसले पनि बुझेको छ । अब समयलाई पर्खिनेबाहेक हामीसँग अरु विकल्प छैन् ।

सर्वोच्च अदालतले तपाईंहरु विरुद्धको मुद्दामा निर्वाचन आयोग र केपी शर्मा ओलीसँग सबै कागजपत्र ल्याउन निर्देशन दिएको छ, अब के होला ? तपाईंका सांसदहरु अहिले नै मन्त्री बन्न पाउनुभएन नि, अब मन्त्रीमण्डल विस्तार कहिले होला ?

आज हाम्रो केन्द्रीय कमिटीको बैठक सकिन्छ । सम्भवतः भोलिदेखि मन्त्रिमण्डलको विस्तारको काम सुरु हुन्छ । अब अदालतमा मुद्दा परेपछि त्यसमा सबै पक्ष÷विपक्षबाट बहस गर्ने कुरा छँदैछ । त्यो कुरालाई हामीले प्राथमिकतामा राखेका छैनौं ।

त्यसो भए भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ?

भोलि नहोला पर्सी होला । तर, अब सुरु भयो भनौं ।

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउनको लागि तपाईंहरुको सहमति थियो त ?

होईन, अहिले म त्यतातिर जान चाहन्नँ । किनभने उहाँले के निर्णय गर्नुभयो ? के गर्नुभएन सँगै बसेर सहमति गरेर कुन ठाउँमा पुगिन्छ । यो कुरा पछि गर्नुपर्छ । संयुक्त राष्ट्रसंघमा जानुपर्ने कारणले पनि हतार भयो होला । तर यतातिर हामीले टिप्पणी गर्ने कुनै कुरा छैन् ।

त्यसोभए तपाईंको पार्टीमा को मन्त्री बन्ने भन्ने कुरामा विवाद छैन् ?

समग्रतामा निम्न कामहरु गरौं भन्नाले परामर्श टुङ्गो लागेपछि मात्रै अरु कुराहरु बोल्न सजिलो हुन्छ । दोस्रो कुरा भइरहेको पात्रहरुलाई बिथोल्ने गरि हामीले बोल्न जरुरी छैन् । त्यसैले यो बिषयमा मैले धेरै ध्यान दिएको छैन ।

अब तपाईंको पार्टीबाट को–को मन्त्री हुन्छन् ?

सांसदको कुरै होइन् नी । पार्टी स्वयमले सरकारमा जाने निर्णय गरिसकेको छ । आज गठबन्धनको एउटा सहयात्री हामी बनिसकेका छौं । यसले गर्दा कोही सांसदले भनि नै रहनुपर्दैन । छिटो गर्ने कुरामा हामीले छिटो नै गरिरहेका छौं । नयाँ ढंगले पार्टीलाई संगठित् गर्नुपर्ने कुरामा दौडिरहेको पार्टीका अनेकौं चुनौतीहरु हुन्छन् । अनेकौं व्यस्तताहरु हुन्छन् । यसले पनि हामीहरुलाई समस्या परेको छ । देशलाई नै थाहा छ की हामी अहिले निकै व्यस्ततामा छौं भन्ने कुरा । त्यसले गर्दा अब एक÷दुई दिन हो अब ।

त्यसोभए अबको दुई÷तिन दिनभित्र मन्त्रिमण्डल विस्तार हुन्छ ? तपाईँहरु पनि सरकारमा जानुहुन्छ ?

हामी त सरकारमा अहिले पनि छौं । मन्त्री नभएको मात्रै हो । हाम्रो पार्टीले सरकारलाई समर्थन गरेकै छ । तर अब चाहीँ समय आइसक्यो । हामी पनि सरकारमा हुन्छौं ।

तपाईंहरुले पनि आकर्षक मन्त्रालय माग्नुभएको छ भन्ने कुरा आएको छ, तर अहिलेसम्म पाउनुभएको छैन् । काँग्रेसले सबै आकर्षक मन्त्रालयहरु लगिसक्यो । अब के गर्नुहुन्छ ?

होइन, मन्त्रालय आकर्षक बनाउने की नबनाउने भन्ने कुरा मन्त्रीको काम गर्ने तरिकामा भरपर्छ । त्यसकारण आकर्षण के कुरामा दिने हो भन्ने कुरा हो । एउटा कुन काम, कुन प्रतिबद्धता, कुन सेवालाई दिने भन्ने पनि होला । अर्को कुरा अब स्रोत÷साधनको बढि परीचालन गर्नुपर्ने मन्त्रालयलाई आकर्षक भनिएको हो भने त्यसमा पनि समान ढंगले बाँडफाँड गर्ने कुरा आउँछ नगरेर हुँदैन पनि । त्यसकारण काँग्रेस माओवादीले लिइरहेको छ भने परिवर्तन गर्ला ।

अर्थ मन्त्रालयमा तपाईहरुको दाबी हो ?

होइन, त्यस्तो यही मन्त्रालय भन्ने छैन् । सहमतिको आधारमा होला । एउटा सिद्धान्तमा जानुपर्छ । यो दाबी भन्ने कुरा अहिले प्रचार गर्ने कुरा होइन ।

काँग्रेसले महत्वपूर्ण मन्त्रालयहरु लिइसकेको छ, अब के गर्नुहुन्छ ?

अब पाइसक्यो अथवा छैन् भन्ने कुरा सामूहिक रुपमा ट्ङ्गो लगाएर माइन्युटमा लेखेपछि हामीले त्यसलाई मान्छौं । त्यसकारण गठबन्धनको रुपमा अहिले गरेको कामलाई हामीले अब ठिक छ राम्रो छ भन्नेबाहेक अरु केही छैन् ।

तर, परराष्ट्र मन्त्रालयको जिम्मेवारी नपाएपछि उपेन्द्र यादव रुष्ट हुनुभएको छ नी ?

होला अब मान्छेको मनमा के कुरा छ भन्ने कुरा मलाई थाहा छैन् । किनभने यो थाहा पाउनुपर्ने कुरा पनि छैन् । हामी आफ्नै बैठकमा छौं । यसले नकारात्मक कुरा ल्याउछ भन्ने कुराको टुङ्गो लाग्ने अवस्था पुग्यौं भने अलि बढि गम्भीर भइएला । यो कुरा हामीलाई अफिसीयल रुपमा जानकारी पनि आएको छैन् ।

माधवकुमार नेपालले अहिलेको अवस्थामा हामीलाई पर्खिनुपर्दैन, मन्त्रिमण्डल विस्तार गरेर सरकार अघि बढे हुन्छ भनिरहनुभएको छ होइन ?

यो कुरा त अहिले हाईन, मैले पनि यो कुरा दोहोर्याईरहेको छु । आजपनि पार्टीमा यो विषयमा धारणा प्रस्तुत गर्दै जाँदा काम गर्दै जानुहोस गर्दै गर्नुभएको छ । त्यसमा हामीले केही भनेका छैनौं । हाम्रो व्यवस्थापन मिलेपछि हामीले आफ्नो नाम दिनेछौं भनेर पनि भनेकै छौं । अब प्रधानमन्त्रीज्युले जति चाँडो नाम माग्नुहुन्छ, हामीले त्यति चाँडो नाम दिनेछौं । त्यसकारण अब तुरुन्तै गठबन्धनको बैठक बसेर यसबारे टुङ्गो लगाउँछ ।

सरकारले धेरै देशबाट राजदुतहरु फिर्ता बोलाएको छ, अब राजदुत कस्ता मान्छे बनाउनुपर्छ ?

अब राजदुतको सम्बन्धमा राष्ट्रियहितको प्रर्वद्धन गर्नसक्ने साथै दुई देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनसक्ने व्यक्ति हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot