Logo

रुक्मशमशेरको स्मृतिमा शोकसभा



काठमाडौं, ६ असोज । नेपाल ओलम्पिक कमिटीले आफ्ना पूर्वअध्यक्ष रुक्मशमशेर राणाको स्मृतिमा आज शोकसभाको आयोजना गरेको छ । राणाको निधन भएको १३औँ पुण्यतिथिका अवसरमा कमिटीले सातदोबाटोमा श्रद्धाञ्जलि कार्यक्रम गरेको हो । राणाको गत भदौ २५ गते निधन भएको थियो । उनी सन् १९९८ देखि २००७ सम्म ओलम्पिक कमिटीको अध्यक्ष थिए ।

उनले राष्ट्रिय खेलकुद परिषद्, फुटबल, तेक्वान्दो, एथलेटिक्सलगायत सङ्घका नेतृत्व सम्हालेका थिए । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको खेलकूदको विकासमा राणाको ठूलो योगदान रहेको बताउँदै नेपाली खेलकुदमा ओलम्पिक आन्दोलनको मान्यता स्थापित गर्ने श्रेय उनलाई जानुपर्ने बताए । श्रेष्ठले भने, “नेपाली ओलम्पिक आन्दोलन यहाँसम्म आइपुग्नुमा सबैभन्दा ठूलो योगदान राणाकै छ ।”

नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले नेपालको तेक्वान्दोको विकासमा उनको अतुलनीय योगदान रहेको बताए । त्यस्तै ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले राणा नेपालमा विवादरहित खेलकुद चाहनुहुने व्यक्तित्व रहेको बताए। कार्यक्रममा राणाको परिवारका सदस्य, ओलम्पिक कमिटीका प्रमुख पदाधिकारी, विभिन्न कमिटीका अध्यक्ष, खेल सङ्घका अध्यक्ष र सदस्यको उपस्थिति थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot