Logo

बजार अनुगमनमा ६ टोली परिचालन



काठमाडौं, असोज ८ । चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकारले सघन अनुमगन सुरु गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा ६ वटा टोली बनाएर परिचालन गरिएको हो। सरकारले हरेक वर्ष चाडपर्वको बेला बजार अनुगमनलाई सघन बनाउने गरेको छ।

चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न बिहीबार गृह मन्त्रालयमा विभिन्न मन्त्रालय र विभागका अधिकारीबीच छलफल भएको थियो। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, यातायात लगायत बजारका सबै क्षेत्रलाई नियमन गरेर गैरव्यावसायिक क्रियाकलाप रोक्न गृहमन्त्री बालकृष्ण खाँडले निर्देशन दिएका छन्।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतलाई चाडपर्वमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएका हुन्।

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री वितरण हुने गरेको भन्दै गृहमन्त्री खाँडले चिन्ता व्यक्त गरेको वैठकमा सहभागी वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘म्याद गुज्रेका वस्तु रिलेबलिङ गरेर गाउँ–गाउँमा पुग्न सक्ने विषयमा गृहमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो,’ उनले भने, ‘बजार अनुमगनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।’

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत व्यावसायिक संस्थाका प्रतिनिधि पनि सहभागी थिए। मन्त्री खाँडले उचित मूल्यमा सामान बिक्री गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे। अनुचित नाफा लिएको पाइएमा कारबाही गर्ने उनले चेतावनी दिए।

चाडपर्वको बेला उपत्यकाबाट ठूलो संख्यामा नागरिक बाहिरिने भएकाले यातायात व्यवस्थापन व्यवस्थति गर्न पनि निर्देशन दिएका छन्। चाडपर्वका बेला यात्रु ठगिने गुनासो आउने गरेको छ। चाडपर्वका बेला म्याद सकिएका खाद्य सामग्री बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्न पनि निर्देशन दिएका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot