जाजरकोट, ८ असोज: गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ ।
चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधन बरामद गरी प्रहरीले सवारीधनीलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले एकवर्षे चोरीपैठारी नियन्त्रणका लागि कार्ययोजना बनाई काम सुरु गरेका थिए ।
वर्ष दिन नपुग्दै आठ महिनाको अवधिमा थापा नेतृत्वको टोलीले ठूलो सफलता प्राप्त गरेको छ । मोटरसाइल ३८ र एक जीप बरामद गरी रु एक करोड २० लाख मूल्य बराबरका सवारी साधन बरामद गरिएको छ । चोरी पैठारी गरिएकामध्ये एक जीप र आठ मोटरसाइकल कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको छ ।
त्यस्तै १२ चोरीका मोटरसाइल सम्बन्धित धनीलाई बुझाएको प्रहरीले बताएको छ । चार मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया चलिरहेको छ । चौध मोटरसाइलबारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ ।
भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले यहाँ चोरी पैठारी गरेर सवारी साधन ल्याई लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो । सवारी चालक अनुमतिपत्र नभएका, मापदण्डविपरीत सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ । सादा पोशाकमा प्रहरी परिचालन गरी जनताको जीउधनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ । संरक्षित जनावर रेडपाण्डालगायतका जङ्गली जनावारको तस्करी गरी बिक्री वितरण गर्ने गिरोहविरुद्धमा प्रहरी आक्रमकरूपमा लागेको छ ।
लागुऔषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता देखिएको छ । झुट्टा मुद्दा लगाउने, रकम असुल्नका लागि गरिने सबैखालका गलत क्रियाकलापप्रतिसमेत प्रहरी सचेत भएर लागेको थापाले बताए । गुनासो आउनबित्तिकै प्रहरी परिचालन गरी गुनासो सम्बोधन भएको उनले बताए । छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापकरूपमा खटिएको प्रहरीको भनाइ छ ।-रासस/File Photo