Logo

जसपा शतप्रतिशत फुट्दैन : यादव



जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले भने, शतप्रतिशत फुट्दैन । सबैलाई कसरी मन्त्री बनाउन सक्नुहुन्छ ? यो कुरा त सबैले बुझेको कुरा हो । सबै पार्टीले आफ्नो भाग छोडेर जसपालाई दियो भने पनि जसपाका सबैजना मन्त्री बन्न पाउँदैन । मलाई लाग्छ यो कारणले जसपा पार्टीमा कुनै समस्या हुँदैन । पार्टी विभाजन हुँदैन । यो चुनावी सरकार भएको हुँदा हामी चुनावको तयारीमा लाग्छौं, लागिरहेका छौं । त्यसैले बाहिर जुन कुरा हल्ला फैलाइएको छ, यो कुराले हामी अचम्मित पनि हुन्छौं । दुखित् पनि हुन्छौं । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मन्त्री छान्ने जिम्मा आफूहरुले नेतृत्वलाई दिएको पनि सुनाए । प्रस्तुत छ नेता यादवसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँको पार्टीले अहिलेसम्म किन मन्त्री टुङ्गो लगाउन सकेन ? पार्टीमा अझैसम्म विवाद छ ?

सबैभन्दा पहिला म के जानकारी गराँउछु भने हाम्रो पार्टीभित्र कुनै विवाद छैन् । अब अहिले जुन गठबन्धनको सरकार हो यसको मन्त्रिमण्डल छिटोभन्दा छिटो विस्तार गर्नुपर्छ । अब यसमा विविध प्राविधिक समस्याहरु थिए । अस्ति हाम्रो नेतृत्व बसेर अब यसलाई पुर्णता दिन हाम्रो पार्टीको तर्फबाट एक प्रकारको सहमति गरेर अगाडि बढेको स्थिति रहेको छ । त्यसैले बाहिर हामी मिडियामा हेर्छौ की जसपाको कारणले ढिला भयोभन्दा दुःख लाग्छ । पहिलो कुरा जसपा पार्टीमा कुनै विवाद छैन् । दोस्रो कुरा हाम्रो पार्टीको कारणले गर्दा सरकारको मन्त्रिमण्डल विस्तारमा ढिला भएको होइन् ।

मावधकुमार नेपाल र उपेन्द्र यादव बीचमा मन्त्रिमण्डल भागबन्डामा कुरा नमिल्दा ढिला भयो भनेर प्रधानमन्त्री ज्युले भन्नुभएको छ । तपाईंहरुले पनि धरै र महत्वपूर्ण मन्त्रालय माग्नुभएको छ, अनि कसरी कुरा मिल्छ ?

होइन, हामीले त जे सहमति भएको थियो । सुरुमै एक प्रकारको बुझाई भएको थियो त्यहीअनुरुप अब सबै बराबर स्टेक होल्डर हो । त्यहीअनुरुप अगाडि बढौं भन्ने हाम्रो पार्टीको माग हो । त्यसैले हामीले बढि मागेको भनेर जुन प्रचार गरिएको छ, त्यो सत्य होइन । अहिले यो गठबन्धन जुन परिस्थितिमा निर्माण भयो । यसको लागि जसपाले जुन भूमिका खेल्यो । त्यो भूमिका र महत्वलाई स्मरण गर्दै अहिले हामी सबैजना मिलेर चुनावि सरकार भएको हुँदा मलाई के लाग्छ भने अहिले पनि हामीले चुनौतिहरु पार गर्नुपर्नेछ । ती चुनौतीहरुलाई पार गर्नको लागि गठबन्धनभित्र एउटा विश्वासको वातावरण बनाउनुपर्छ । साथै, जनतामा जुन अन्यौलता छ त्यसलाई चिर्नको लागिपनि एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन् । मलाई लाग्छ जनता समाजवादी पार्टी यसमा लचक र उदार छ । हाम्रो तर्फबाट यसमा कुनै समस्या छैन् ।

तपाईहरुले ५ वटा मन्त्रालय खोज्नुभएको छ, तर प्रधानमन्त्रीले दिन तयार हुनुहुन्न । अब तपाईंहरु के गर्नुहुन्छ ?

यसमा दिने र लिने भन्दापनि जुन सम्झौता भएको छ । त्यसलाई कार्यान्वयन गर्ने हो । यसबारे पहिले नै कुरा भएको हो । जति स्टेक होल्डर छन् त्यसमा एकरुपता कायम गर्दै अगाडि बढ्ने भन्ने कुरा भएको थियो । हामीले त्यही कुरालाई कार्यान्वयन गरेर अगाडि बढौं भनेको हो ।

त्यसोभए तपाईहरुंले कतिवटा मन्त्रालय माग्नुभएको हो ?

हामीले के भनेका छौं भने जुन ४ वटा दल छ, त्यसको बीचमा बराबरीको साझेदारी हुनुपर्छ । सबैको समान हैसियतको साथ अघि बढ्नुभएको छ । जुन परिस्थितिमा यो गठबन्धन निर्माण भयो र हामी जसरी त्यो चुनौतीलाई पार गरेर अगामी चुनौतीलाई सामना गर्न तयार छौं । अगाडिका चुनौतिहरु पार गर्न सबै पार्टी मिलेर जानुपर्ने स्थिति रहेको छ । त्यसैले हामीले सबैजनामा समान अनुभुति होस भन्ने चाहेका छौं । हामी चुनावी गठबन्धनको सरकार भएको हुनाले एउटा पावर मिनिस्ट्री अर्को डेभलपमेन्ट मिनिस्ट्री र तेस्रो चाहीँ सेवा गर्ने मिनिस्ट्री हुन्छ । अब यी तीनवटै क्याटेगोरीको मन्त्रालयहरु छन् त्यसमा सबैलाई पहुँच हुनेगरि भागबन्डा गरौं भन्ने हाम्रो स्पष्ट लाइन हो । यो कुरालाई समझदारी गरेर अगाडि बढ्दा मलाई लाग्छ गठबन्धनको जीवनको लागि पनि राम्रो हुन्छ । साथै, हामीले जनतामा जुन म्यासेज दिन खोजेका छौं त्यो म्यासेज पनि दिन्छ ।

उपेन्द्र यादवले जबसम्म दल विभाजनसम्बन्धी अध्यादेश निश्क्रिय हुँदैन, तबसम्म हामी सरकारमा जान सक्दैनौ भन्नुभएको छ । मैले सबैलाई मन्त्रालय बनाउन सकिनँ भने पार्टी फुट्छ भनेर अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीसँग गुनासो गरिरहनु भएको छ ?

यो वाइयात कुरा हो । हामीले के भनेका हौ भने यो दल विभाजनसम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउँछ । यसले कसैको हित गर्दैन् । त्यसैले यसलाई फिर्ता गर्नुपर्छ भनेको हो । यसको मतलब यो होइन की यसले हाम्रो दलमा समस्या हुन्छ । हामीले नेतृत्वलाई केसम्म भनिसकेका छौ भने, यदि आवस्यता महसुस हुन्छ भने हामी सबैजना राजीनामा गरेर बुझाउन तयार छौं ।

तपाईंकै अध्यक्षले यहाँ पार्टी फुटाउने चलखेल सुरु हुँदैछ, जबसम्म दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हँुदैन तबसम्म सरकारमा जाँदैनौ भन्नुभएको छ नि ?

तपाईंले एउटा विषयमा भनेको कुरालाई अर्को विषयमा जोड्नुभएको हो । त्यसो होइन् । लोकतन्त्रको स्थायित्वको लागि मल्टिपार्टी सिस्टममा यो अध्यादेशले राम्रो नतिजा ल्याउदैन भनेर हामीले सुरुदेखि नै बोल्दै आएका हौं । हामीले हाम्रो पार्टी फुट्छ भनेर भनेको होइन । यो कुरा सोह्रैं आना असत्य हो ।

मन्त्री पद जसले पाउँदैन, उसैले पार्टी फुटाउँछ भन्ने हल्ला छ, किनभने ४ जना सांसद् भए पार्टी फुट्छ, यसैको डर होला होईन ?

मैले अघि पनि भने हामी राजीनामा पनि दिन तयार छौं । त्यो भएको भए हामी नेतृत्वलाई अधिकार नै दिने थिएनौं । साथै, पटक पटक संसदीय दलमा, हाम्रो पार्टीको कार्यकारिणी बैठकमा नेतृत्वले लिएको निर्णयलाई हामी स्विकार गरेर अगाडि बढाउछौं । अब रह्यो सरकारको कुरा, त्यसमा निश्चित् रुपमा मलाइ लाग्छ ५–६ मन्त्रालयको कुरा भइरहेको छ । त्यो त जम्मै मन्त्रालय पाएपनि सबै जान पाउँदैन । त्यसैले यो कुरा अब सबैजना राजनीति गरेरै बसेको हो । यो कुरा सबैले बुझेको छ । इच्छा राख्नु स्वभाविक हो । म भइदिए राम्रो होला भन्ने कुरा सबैको मनमा होला । पाइएन भने राम्रो साथीले पायो भनेर खुसी हुने हो ।

त्यसो भए भागबन्डा मिलेन भने पनि पार्टी फुट्दैन ?

शतप्रतिशत फुट्दैन । सबैलाई कसरी मन्त्री बनाउन सक्नुहुन्छ ? यो कुरा त सबैले बुझेको कुरा हो । सबै पार्टीले आफ्नो भाग छोडेर जसपालाई दियो भने पनि जसपाका सबैजना मन्त्री बन्न पाउँदैन । मलाई लाग्छ यो कारणले जसपा पार्टीमा कुनै समस्या हुँदैन । पार्टी विभाजन हुँदैन । यो चुनावी सरकार भएको हुँदा हामी चुनावको तयारीमा लाग्छौं, लागिरहेका छौं । त्यसैले बाहिर जुन कुरा हल्ला फैलाइएको छ, यो कुराले हामी अचम्मित पनि हुन्छौं । दुखित् पनि हुन्छौं । जसपा पार्टीमा आजको दिनमा सबैभन्दा कम अन्तरविरोध भएको स्थिति रहेको छ ।

महन्थ ठाकुरले अर्को पार्टी खोलिसक्नुभयो, तपाईं भन्नुहुन्छ अन्तरविरोध कम छ । कसरी विश्वास गर्ने ?

त्यो त भइसक्यो । त्यो कुरा इतिहास भइसक्यो । त्यसलाई पनि हामीले सम्माननै गर्यौं ।

उपेन्द्र यादवले महन्थ ठाकुरलाई पार्टी फुटाउन सहयोग गर्नुभयो नि होइन ?

होइन, लोकतन्त्रमा विचार मिलेन म छुट्टै बसेर काम गर्छु भनेर छुट्टिन पाइन्छ । ठिकै छ हामीले त्यसलाई सहज रुपमा लियौं । यदि हामी गठबन्धनमै रहेर यदि अध्यादेश ल्याउन पाइदैन भनेको भए फरक परिस्थिति हुन्थ्यो । अब विचार मिलेको छैन् । सँगै बसेर काम गर्न सकिँदैन भने ठिकै छ आ–आफ्नो ढंगले काम गरौं भनिएको हो । अहिले छुट्टिनुभएको छ । भोलिको दिनमा रियलाइज भयो भने फेरीसँगै आउने स्थिति हुनसक्छ । त्यसैले लोकतन्त्रमा हामीले आफंै चाहीँ विचारको स्वतन्त्रताको कुरा गर्छौं ।

राजकिशोर यादब यदि मन्त्री बन्न पाउनुभएन भने जसपा पार्टी फुटाउनुहुन्छ त ?

यो कुरा त मैले तपाईंलाई पहिले नै भनिसकें नी । यो त सोच पनि आउँदैन । सम्भव नै छैन् । यो विषय नै होइन । त्यस्तो कुनै समस्या छैन् । पार्टीले के निर्णय गर्छ, त्यसलाई हामीले शिरोधार्य गर्ने हो । हामीले वैकल्पिक सरकार निर्माणको संकल्प लिएका छौं ।

त्यसोभए राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता भएन भने पनि जसपा सरकारमा जान्छ ?

यसको जिम्मेवारी हामीले नेतृत्वलाई दिइसकेका छौं । साथै, हामी नेतृत्वलाई भनिसकेका छौं हाम्रो संसदीय दलबाट कुनैप्रकारको बाधा हुँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot