Logo

अनुभूति : लेख्नुको आनन्द



कृष्ण प्रधान : लेख्नुको आनन्द गजबको हुन्छ । यो त्यस्तो आनन्द हो जुन जोसुकैलाई प्राप्त हुन्न । लेखकलाई मात्र हुन्छ । अब आनन्दजस्तो कुरा सबैलाई नभएर मात्र लेखकलाई हुने आनन्दले सबैको हित नगर्ने कुरा पनि आउला । तर, आनन्द भनेको स्वयम्ले भोग्ने कुरा हो, अनुभूति हो, भाव हो, त्यो बाँडिन सक्तैन । त्यसैले यो नितान्त स्वकीय र निजी हुन्छ ।

लेखकलाई लेख्नुको आनन्द कलाकारलाई आफ्नो कला सृजना कोर्नुको आनन्दजस्तै जस्तै हो । चित्रकार वा कलाकारलाई उसले सोचेको कुनै कला मूर्त वा अमूर्त सम्पन्न गरेको क्षणको आनन्द जुन हुन्छ, त्यस्तै आनन्द एउटा लेखकका लागि उसले सृजना गरेको रचना पूरा हुँदा हुन्छ । संगीतकारलाई कुनै गीत रचनामा संगीत भर्दाको आनन्दजस्तै, गायकलाई कुनै संगीतबद्ध गीत गाउँदाको आनन्दजस्तै नृत्यांगनालाई आफ्नो नृत्य प्रस्तुत गर्दाको आनन्दजस्तै, वाद्यवादक र संगीतयन्त्रहरू बजाउने कलाकारलाई आफ्ना संगीतयन्त्रहरूको कुशलता प्रदर्शन गर्दाको आनन्दजस्तै हुन्छ, एउटा लेखकलाई उसको लेखनको रचनाले दिने आनन्द ।

एउटा कविलाई कविता रचना गर्दाको आनन्द, एउटा कथाकारलाई कथा पूरा गर्नुको आनन्द, एउटा निबन्धकारलाई निबन्ध सृजना गर्नुकोजस्तै आनन्द, एउटा नाटककारलाई नाट्य प्रस्तुत गर्दाको आनन्दजस्तै लेखकलाई रचना पूरा गर्नुको आनन्द, रचना सृजना गर्नुको आनन्द हुन्छ । त्यो नितान्त निजी र स्वकीय हुने हुँदा त्यसलाई कुनै व्यारोमिटरमा नाप्न सकिन्न, ढक तराजुमा जोख्न सकिन्न र कुनै माना पाथीले भर्न पनि सकिन्न । लेख्नुको आनन्द यस्तो हुन्छ ।

अब यो लेख्नु भन्ने कुरा पनि गजबकै हुन्छ । जहिलेसुकै लेख्न सकिन्न । जे पनि लेख्न सकिन्न । लेख्ने कुरा हुनु पनि पर्यो । भएर मात्र पनि भएन, त्यो टिप्नसक्नु पर्यो । फेरि त्यो टिपेर थपक्कै जस्ताको तस्तै राख्न सक्नु पनि लेखकको कला हो, सीप हो । सबै चीज मनमा आएजस्तै कहाँ जस्ताको तस्तै लेख्न सकिन्छ र ! त्यो त सबै कल्पनालाई लेखनमा उतार गर्नु भनेको निकै शीपको कुशाग्रताको प्रदर्शन पनि हो ।

अब सबै लेखेको कुरा सबै सबै राम्रा सृजना नहुन पनि सक्छन् । त्यस्तो बेला कसैले कसैको सृजना मन पराइदिएन भने लेखकलाई केही चोट अवश्य पुग्छ । चोटको मात्रा फरक होला, त्यो उसको आनन्दमा पनि पर्नसक्छ । रचना सृजना गर्नुको आनन्द जुन हुन्छ, त्यो स्वर्गीय आनन्द हुन्छ, एउटी नारीले गर्भाधानपश्चात् बच्चा जन्माउँदाको खुशीजस्तै । तर पनि लेखकलाई लेख रचना सृजना गर्दाको आनन्द त्यही बच्चा जन्माउने आमाकै जस्तो आनन्द वा खुशी हुन्छ भने उसका सृजनालाई कोही कसैले कुनै नोटखोट लगाउँछन् भने ती तिनमा टिप्पणी वा तपसिलका कुरा हुन् । कुनै पनि आमाले आफ्ना छोराछोरीलाई कसैले जे जस्तोसुकै नोटखोट गरे पनि आमालाई त्यो पर्वाह हुन्न । त्यस्तै लेखकलाई कसैले कुनै टिप्पणी वा नोटखोट गरे पनि आफ्नो लेखनको खुशी खोसिएको अनुभव हुन्न । लेख्नुको मजा भनेकै त्यही हो ।

लेख्नुको पहिलो आनन्द रचना पूरा गर्नुमा प्राप्त हुन्छ । एउटा शिल्पकारले मूर्तिमा पूर्णता दिएपछिको आनन्दजस्तै कुनै रचना पूरा हुँदा लेखकलाई प्रथम खुशी वा आनन्द प्राप्त हुन्छ । त्यो लेख्नुको प्रथम आनन्द हो । अब त्यो रचना सृजनाले प्रकाशन हुँदा लेख्नुको दोस्रो आनन्द प्राप्त हुन्छ । जब जब प्रकाशित रचनाले पाठकको पनि मन जित्छन् वा पाठकीयता पाउँछ उसको लेख्नुको तेस्रो खुशी प्राप्त हुन्छ त्यहाँनेर ।

कुनै रचनालाई मन पराइन पनि सकिन्छ, मन नपराइन पनि सकिन्छ । त्यो लेखकको हातमा हुन्न । किनभने रचना प्रकाशित भैसकेपछि त्यो लेखकको मात्र हुन्न, सार्वजनिक हुन्छ, लोकको हुन्छ । लोक भनेको जगत् हो । जगत् लेखकको हातमा हुन्न । तर, एउटा पाठकीयताको आनन्द भने लेखकले प्राप्त गर्छ । त्यो लेख्नुको तेस्रो आनन्द हो ।

लोकको हातमा पुगेपछिको खुशी लेखकको हातमा हुन्न । त्यो जोडिएर वा टुक्रिएर वा एकल एकल आउने कुरा हो । जब जब कुनै रचना समालोचक, आलोचक, समीक्षक, अनुसन्धानकर्ता, विवेचक, द्रष्टाका हातमा पुग्छ वा पुगिहालेछ र त्यसले लेखकको रचनाको चिरफार गर्ने काम गरेछ भने त्यसको आनन्दमा पनि लेखक समावेश हुन्छ । त्यो लेख्नुको चौथो आनन्द हो ।

त्यो आनन्द पनि सधैँ सकारात्मक वा पोजिटिभ मात्रै हुन्छ भन्ने छैन । कसैले पोजिटिभ आलोचना गर्लान्, कसैले नेगेटिभ आलोचना गर्लान् । कसैले समीक्षात्मक विवेचना गर्लान् र कसैकसैले फूलैफूलले सत्कार पनि गर्लान् । त्यो लेखकका हातमा छैन । अब आफ्नै हातमा नभएको खुशी वा आनन्दको के कुरा भो र ? तर पनि लेख्नुको आनन्द भने त्यहाँनिरबाट पनि च्याएको हुन्छ । लेख्नुको चौथो आनन्द यो हो ।

यहाँनेर एउटा स्मरणीय कुरा के छ भने अचेल लेखाएर आनन्द लिनेहरू पनि छन् । अर्थात् आफ्ना बारेमा लेखाएर लेख्नुको आनन्द लिनेहरू पनि छन् । त्यो लेख्नुको आनन्दमा भने यो लेखक विश्वास गर्दैन, कमसेकम अहिलेसम्मको पाँच दशकको लेखनको यात्रामा लेखाएर, लेखाई मागेर आनन्द लिने प्रवृतिमाथि चाहिं विमति नै रह्यो । यस्तो आनन्द पनि होला कतिपय लेखकहरूलाई । तर म यस आनन्दलाई आनन्द मान्दिनँ । यस्तो आनन्द लेख्नुको आनन्दजस्तो हुँदैन ।

जब कुनै लेखकले वा लेखनले लेख्नुको यात्रामा कुनै रचना कृतिगतरूपमा प्रकाशित हुने अवसर पाउँछ, त्यो बेला लेखनुको अर्को आनन्द थपिन्छ । यस्तो आनन्द लेख्नुको पाँचौँ आनन्द हो ।

लेख्नु भनेको लेख्नु मात्र होइन । सृजनारत रहनु पनि हो । सृजनारत रहनु भनेको सृजनालाई निरन्तरता दिनसक्नु पनि हो । लेखन लेख्नुले बाँचिरहनु हो । यस्तो सृजनामा आनन्द पनि अर्कै किसिमको हुन्छ । एउटा लेखक स्वयम्ले भन्दा पनि रचनाले बाँच्ने हुन्छ । त्यसरी बाँचेको लेखक कुनै क्षण पुरस्कृत भैहालेछ भने लेख्नुको छैठौं आनन्द पनि उसलाई प्राप्त हुन्छ । अब यस्तो पुरस्कार मागेर आनन्द प्राप्त गर्ने होइन । लेख्नुकै पुरस्कार हुनुपर्छ भन्ने हो, त्यो मागेर, रोएर, धाएर खुशी पाउनु पर्छ भन्नेमा एउटा सच्चा लेखकले विश्वास गर्दैन ।

लेख्नुको आनन्दमा कहिलेकाहीँ बोनस पनि प्राप्त हुने गर्छ । अर्थात् कुनै रचनाले प्रकाशित हुँदा पारिश्रमिक पाइहाल्यो भने त्यसलाई लेख्नुको आनन्दमा बोनस पाएको भन्छु म । यस्तो बोनस सधैँ सबैलाई प्राप्त हुँदैन । हुनुपर्छ भन्ने पनि छैन । सबै प्रकाशनले त्यो दिँदैनन् पनि । कतिले दिन्छन् । कतिले दिँदैनन् । यसैले यसलाई प्रकाशनको आनन्द वा खुशीको बोनस भन्ने गर्छु म । सबै प्रकाशन संस्थाहरूको आर्थिक हैसियत एउटै हुन्न । यसैले प्रकाशनको खुशी प्राथमिक खुशी हो । बोनस अतिरिक्त खुशी ।

त्यसो त लेख्नुमा अर्को आनन्द प्रकाशनका साथमा रोयल्टी पाउँदाको खुशी पनि जोडिने गर्छ । त्यो पनि सधैँ सबैलाई सम्भव हुन्न । सबै प्रकाशन संस्थाले त्यो दिँदैनन् । सबै लेखनमा त्यो प्राप्त हुन्न । यसैले यदि त्यस्तो खुशी वा आनन्दै पनि प्राप्त भैहालेछ भने त्यो पनि अतिरिक्त वा सम्पूरक खुशी हो लेख्नुको । यो एकखाले दोहोरो बोनसजस्तै हो, प्रकाशनमा । अचेल त लेखक स्वयम् जो प्रकाशक पनि बन्नुपर्ने बाध्यता छ, त्यसमा यस्तो खुशी प्राप्त नहुन सक्छ, हुँदैन । तर गजबको कुरा के छ भने, लेख्नुमा लेखकले त्यस खालका अतिरिक्त बोनसहरूलाई ध्यान दिँदैन, प्रकाशन हुनुकै आनन्दले उसलाई थिचेको हुन्छ, त्यसले विजय हासिल गरेको हुन्छ ।

लेख्नुको आनन्दमा कहिलेकाहीँ, यदाकदा केही अरू खाले खुशीहरू पनि देखा पर्ने हुन्छन् । आउँछन् । त्यस्तो खुशी भनेको जोडिन आउने खुशी हो, अतिरिक्त । लेखनको अनुवाद हुँदाको खुशी त्यस्तै अतिरिक्त खुशी हो । यो प्रकाशनकै खुशीसित जोडिएर आउने खुशी हो । कुनै रचनाको अनुवाद अनिवार्य वा जरुरी त छैन । भैहालेछ भने पनि त्यो नराम्रो चाहिँ होइन । त्यसैले यस्तो हुनु लेख्नुको थप प्रचार प्रसार हुनु हो । अब यस्तो प्रचार प्रसार पनि स्वाभाविक हुनसक्यो भने राम्रो हुन्छ । तर अचेल यसमा अस्वाभाविक प्रयत्नहरू !! अभीष्टहरू पनि जोडिएर आएको भेटिने हुँदा यसलाई सधैँ प्राप्त भैरहने खुशीभन्दा अलग राख्नु पर्छ । अचेल त प्रायोजित अनुवाद पनि लेखनसित जोडिएर आएका देखिन्छन् । त्यसो हुनुभन्दा त्यसको स्वाभाविक उन्नयन चाहिँ मेरो अभीष्ट हो ।

एउटा लेखक लेख्दाको आनन्दमै बढी बाँच्न चाहन्छ । रमाउन चाहन्छ । उसैले उसलाई हाँसो दिन्छ । खुशी दिन्छ । आनन्द दिन्छ । स्थितप्रज्ञता दिन्छ । तर लेखकले लेख्नुको ओज कायम गर्न सक्नुपर्छ । त्यो उसले नै गर्ने हो, पाठकले होइन । लेखकले आफ्नो लेख्नुको अर्थ राख्न सक्तैन भने उसको लेखन पनि बाँच्दैन सायद । फोस्रो हुन्छ त्यस्तो लेखन । राजा–सम्राट्हरूको भाषणको ठ्यासफूजस्तै । लेखनले लादिएर वा कसैमाथि लदाएर लेख्नुको आनन्द लिने काम गर्नु हुँदैन । तेस्ता कामहरू नभएका नदेखिएका त होइनन् तर ती दीगो हुन्नन् । लेखकले दिगो चिरस्थायी र चिरञ्जीवी हुने बाटो रोज्नु पर्छ । मार्ग बनाउनु पर्छ र त्यसमा अडिएर उभिएर हिड्नुपर्छ । त्यो अर्कै आनन्द हुन्छ । लेखकले लेख्नुको आनन्दमा रमाउन सकेन भने ऊ मर्छ । वा, बाँचेकै भए पनि मरेजस्तै अभिनयको पीडामा हाँसेजस्तो मात्र गर्छ त्यस्तो अवस्थामा । लेख्नुलाई बचाउने उसको लेखनले नै हो, कुनै लेखकलाई पनि । अरु कुराहरू त अतिरिक्त खुशीहरू मात्र हुन् ।

मर्ने त लेखक प्राणी नै हो, मर्छ । तर ऊ लेखनमा नै बाँचिरहेको हुन्छ, जीवनका लीला समाप्त भएपछि पनि । प्राणीमा अमर कोही छैन, जीवनजस्तै मृत्यु पनि सँगै जोडिएर आएको हुन्छ । तर चिरस्थायी लेखन चिरञ्जीवी हुन्छ, मृत्युपर्यन्त पनि । लेख्नुको जीवनकालको खुशी त उसले जीवनकालैमा भोग्छ । मृत्युपछि हुने त्यो खुशी भने लेखनलाई चिरञ्जीवी बनाएर राख्ने खुशी हो ।

अब लेख्नुलाई मारेर लेख्ने कि बचाएर लेख्ने– लेखककै हातमा छ ।

नोट : यसअघि लेखकको अर्कै तस्विर अर्कै पर्न गएकोमा क्षमा चाहन्छौं ।

 



प्रतिक्रिया दिनुहोस्