काठमाडौं, १० असोज । सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आफूहरुले प्रभावमा पारेर बजेटमार्फत नयाँ कर नीति नआएको स्पष्ट पारेका छन् । उनले भने,‘नेपालमा रोलिङ मिल्स भनेर नेपालमा जम्मजम्मी ३० वटा छन्, ३० वटामा चालु हालतमा २४ वटा छन्, त्यसमध्ये १२ यो सरकारको नयाँ नीतिको पक्षमा छन् । र, १२ वटा उद्योग चाहीँ विरोधमा छन् । उनीहरुले किन विरोध गरेका हुन ? मैले यो कुरा बुझेको छैन् । उहाँहरुको विरोधको कुनै तुक छैन् । हामीले कच्चा पदार्थ स्पन्ज आईरन मगाउने हो । त्यो स्पन्ज आईरनबाट हामीले विलेट बनाउने हो । संसारभरि जहाँ पनि हेर्नुभयो भने हरेक उद्योग चाहीँ, एउटाको कच्चा पदार्थ हुन्छ, अर्काको उत्पादन हुन्छ । अहिलेसम्म हामीलाई कुनै प्रोटेक्शन गरेको छैन् । सरकार हाम्रो प्रभावमा परेको होईन् ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चीन र भारतमा स्पन्ज आईरन प्रतिबन्ध नगरिएको तथ्य सुनाए । उनले बजारमा आफूहरुको मनोपोली नभएको स्पष्ट पारे ।
उनले भने,‘हामीले चार वर्षदेखि यो उद्योगमा घाटा लागिरहेको कुरा सुनाएका थियौं । अहिलेको अर्थमन्त्रीलाई चिनेको पनि छैन् । आजसम्म मैले जनार्दन शर्मालाई भेटेको पनि छैन् । आजसम्म मैले जीवनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेको छैन् ।यो कुरा त हामीले अर्थ मन्त्रालयलाई कन्भिन्स गरेर निर्णय गराएका हौं ।’