नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले सरकारलाई पूर्णता दिन ढिलाई भएको विषयमा आम जनताबाट आलोचना हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले जनताको भावनाअनुरुप पनि लामो समय मन्त्रिपरिषद् खाली हुनु राजनीतिक र व्यवहारिक हिसाबले पनि राम्रो नभएको टिप्पणी गरे । एमसीसी पारित गर्नुपर्छ कि पर्दैन् ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘मेरो व्यक्तिगत चाहना भन्दापनि यो संसद्को चाहनामा भरपर्छ । मैले अघि पनि भनें–मेरो पार्टीको धारणा स्पष्ट आइसकेपछि मैले बढि बहस गर्नुपर्छ जस्तो मलाई लाग्दैन् । किनभने मेरो पार्टीभन्दा म माथि छैन् । यदि यो एमसीसीको विषयलाई लिएर मेरो पार्टीले त्रुटीपूर्ण निर्णय गर्छ भने त्यतिबेला म बोल्छु । आजको अवस्थामा मेरो व्यक्तिगत धारणाभन्दा पार्टीको धारणा महत्वपूर्ण छ ।’ प्रस्तुत छ नेता गौचनसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनेको ७७औं दिनमा आज मन्त्रिपरिषद् विस्तार गर्दैहुनुहुन्छ, अब देशको राजनीति कता जान्छ ?
अब, आज विस्तार गर्दै हुनुहुन्छ भनेर तपाईंले डिसक्लोज गर्नुभयो । अहिले म मेरो गृहजिल्ला मुस्ताङको पनि अत्यन्त दुर्गम छुचङ भन्ने गाउँमा छु । म तपाईंमार्फत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनतालाई नजिँकिदै गरेको दशैंको शुभकामना दिन चाहान्छु ।
सरकारले किन आजसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेन ?
सायद सम्माननीय प्रधानमन्त्रीज्युलाई बिभिन्न बाधा अड्चनहरु रहेको थिए । विगतमा पूर्व प्रधानमान्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको जुन सरकार थियो, त्यो सरकारले नेपालको लोकतान्त्रिक संविधानमाथि प्रहार गरिरहेको थियो । मैले त पहिलेदेखि नै भनिरहेको थिएँ–यो सरकार अधिनायकवादी ढंगले अघि बढ्दै, संसदीय मर्यादा र संवैधानिकक मर्यादा कुल्चँदै जाँदा आज यो स्थितिसम्म आएर नेपाली काँगे्रसले बाध्यतावश सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएको हो । विशिष्ट र विषम् परिस्थितिमा निर्माण भएको सरकारलाई निश्चयपनि चूनौति र संविधानलाई स्थायत्वि गर्ने साथै विगतको सरकारले गरेका असंवैधानिक क्रियाकलापको कुप्रभावबाट लथालिङ्ग भएको अवस्थामा यसलाई सही बाटोमा ल्याउन समयको लागेको हो । यही कारणले ढिलाई भएको हो । यद्धपी मैले पहिलेपनि भनेको थिएँ, म कति दिन सरकारमा रहन्छु भन्नुभन्दा पनि राष्ट्र, जनता र लोकतन्त्रको लागि के गरें भन्ने कुरा हो । जसरी ७७ दिन बितेको कुरा छ, यो आँफैमा राजनीतिक उल्झनहरु रहेको भएतापनि त्यो प्रभावबाट मन्त्रिमण्डल गठन ढिलाई हुनुमा आम जनताले आलोचना गर्नु स्वभाविक हो । तर, अब हुने मन्त्रिपरिषद्ले ढिलै भएपनि ती जिज्ञासालाई केही हदसम्म मल्हमपट्टी लगाउँछजस्तो मलाई लाग्छ । तर, यति ढिला भएकोमा एउटा राजनीति गर्ने मान्छेको हैसियतले जस्तोसुकै चुनौति रहेको भन्दापनि आफ्नो सरकारको स्थायित्वमात्रै होइन, जनताको भावनाअनुरुप पनि लामो समय मन्त्रिपरिषद् खाली हुनु राजनीतिक र व्यवहारिक हिसाबले पनि राम्रो होइन् । व्यापारीहरु र डनहरु हाबी भएको मन्त्रिपरिषद् नहोस र उच्च राजनीतिक नैतिक बल भएको व्यक्तिहरुको मन्त्रिपरिषद् होस भनेर मैले प्रधानमन्त्रीज्युलाई भन्न चाहान्छु ।
यो त चुनावी सरकार हो, नेतालाई आफ्नो पकडमा राख्नसक्ने र बजेट भएको मन्त्रालय चाहिन्छ भन्ने धेरै छन्, तपाईले भनेजस्तो होला ?
हो, विगतदेखि नै यस्ता कुराहरु आइरहेका छन् । तर, यो दुर्भाग्यको कुरा हो । कुनैपनि मन्त्रालय महत्वपूर्ण र कुनैपनि मन्त्रालय कम महत्वपूर्ण भन्ने हुँदैन । जस्तो उदाहरणको लागि मैले पछिल्लो समयमा बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएको थिए । प्रशासनिक र ईकाइको हिसाबले सानो भएपनि देशको आर्थीक विकास, व्यापार प्रवद्र्धनलगायतका थुप्रै भूमिकाहरु थिए । सम्भवतः त्यो मन्त्रालयको भूमिका अरु मन्त्रालयभन्दा कम थिएन । तपाईंले भनेको कुरामा आउँदा पछिल्लो समय यस्तै कुराहरु मौलाउँदै गएको छ । दुःखका साथ भन्नुपर्छ, राजनीतिमा एउटा यस्तो विकृति आयो ठुला–ठुला मन्त्रालयहरु र कर्मचारीको सरुवा÷बढुवामा पनि पैसाको चलखेल हुन्छ भन्ने सुन्नुपर्दा मलाई त दुःख लाग्छ भने आम जनतालाई कति दुःख लाग्छ होला ।
कांग्रेसको अधिवेशन चलिरहेको छ, वडादेखिनै धेरैनै गुट/उपगुटहरु देखिन थाले नि ?
गुट/उपगुट म चिन्दिनँ । मुस्ताङको सन्दर्भमा कुरा गर्ने हो भने आजको दिनसम्म वडालगायत गाउँपालिका कार्यसमितिहरु सम्पूर्ण सर्वसम्मत् भएर आएका छन् । यहाँ कुनैपनि गुटहरु देखिएका छैनन् । यहाँले अरुसँग पनि सोध्न सक्नुहुन्छ । नेपाली काँगे्रसको प्रजातान्त्रिक समाजवाद, राष्ट्रियता र अहिले पछिल्लो समयमा आएको संघीयता र समावेशीतावाद आधारमा हामी स्वस्थ प्रतिष्पर्धा गर्दैछौं । साथीभाईहरु छलफल गर्दैहुनुहुन्छ । अब हाम्रो जिल्ला र क्षेत्रीय अधिवेशनमात्र बाँकी रहेको छ । त्योपनि हामीले छिटै सम्पन्न गर्दैछौं । मैले पनि समाचारहरु पढ्छु गुट, उपगुट, सह गुटहरु छन् भन्ने तर विचार समूह, सैद्धान्तिक असहमति अथवा रनणीतिक विचारहरु हुन्छन् यी लोकतन्त्रका आकर्षण पनि हो । तर, नेपाली काँगे्रसदेखि लिएर अन्य पार्टीमा पनि गुटहरु देखिन्छ यो प्रकारान्तरले लोकतन्त्रको लागि ठुलो चूनौति र खतरा हुनसक्छ ।
तपाईंले नेपालमा एमसीसी पास हुनुपर्छ भनिरहनुभएको छ, तर एमसीसी राष्ट्रघाती सम्झौता हो यसलाई पास गर्नुहुँदैन भन्ने बहस पनि छ, यसमा तपाईं के भन्नुहुन्छ ?
यो एमसीसीको विवाद किन यति धेरै लम्बियो, किन यति धेरै बहस भईरहेको छ म आँफैले बुझ्न सकिरहेको छैन् । म एउटा कुरा जोड्न चाँहे, म वाणिज्यमन्त्री भएको बेलामा चीनको ‘वान बेल्ट वान रोड’ इनिसीएटीब अहिले ‘बेल्ट एण्ड रोड’को कार्यक्रम सर्वसम्मत् रूपमा पास भयो । त्यतिबेला पनि यो पास भएपछि चिनियाँ सेना नेपाल भित्रिन्छ भनेर बहस चलिरहेको थियो । सर्वसम्मत रुपमा पास भएको थियो । एमसीसीको विवाद भएपछि त्यसका डकुमेन्टेसनहरु संसद्बाट मगाएर मैले सरसर्ती हेरें । पछिल्ला दिनमा एमसीसीकी उपाध्यक्ष नेपालमै आएर यो सैनिक गठबन्धनसँग संलग्न छैन् भनेर प्रस्तुति भएको अवस्था पनि छ । नेपाललाई सबै देशहरुले माया गरिरहेका छन् । यदि देशको हितविपरित केही बुँदाहरु छन् भने त्यसमाथि संसद्मा छलफल गर्नुपर्यो । संसदमा वृहत रुपमा छलफल गर्नुपर्छ । एउटा यस्तो प्रपोगाण्डा गर्ने समूह म देख्छु नेपालमा, कुनैपनि कामहरु हुन नदिने । भारतलाई गाली गर्ने नेपालमा राष्ट्रवादी भइन्छ भन्ने किसिमको एउटा मानसिकता भएको छ । के भारतलाई गाली गरेर हामी राष्ट्रवादी हुनसक्छौं ? चीनको सुरक्षा थे्रटलाई हामीले हाम्रो भूमिबाट त्यसलाई निगरानी गर्न सकेनौं भने के हामी चीनका असल मित्र हुनसक्छौं ? अन्तराष्ट्रिय जगतबाट हामी सहकार्य गर्न आजको युगमा सम्पूर्ण पृथ्वीनै एउटै परिवारको रुपमा रहेको अवस्थामा हामी विश्व राजनीतिक, सामाजिक, आर्थिक र मौलिक क्रियाकलापहरुबाट हामी अलग रहन सक्दैनौं ।
एमसीसी पारित गर्नुपर्छ भन्नेलाई तपाईं के भन्न चाहनुहुन्छ ?
मेरो व्यक्तिगत चाहना भन्दापनि यो संसद्को चाहनामा भरपर्छ । मैले अघि पनि भनें–मेरो पार्टीको धारणा स्पष्ट आइसकेपछि मैले बढि बहस गर्नुपर्छ जस्तो मलाई लाग्दैन् । किनभने मेरो पार्टीभन्दा म माथि छैन् । यदि यो एमसीसीको विषयलाई लिएर मेरो पार्टीले त्रुटीपूर्ण निर्णय गर्छ भने त्यतिबेला म बोल्छु । आजको अवस्थामा मेरो व्यक्तिगत धारणाभन्दा पार्टीको धारणा महत्वपूर्ण छ । तर, विकास नचाहाने मान्छेहरुले यसबारे प्रोपोगाण्डा फैलाएका छन् । केपी शर्मा ओलीले आफू सरकारमा हुँदा एमसीसीको प्रस्ताव संसद्मा पेश गर्नुभएको हो । आज सत्ताबाट बाहिरिनेत्तिकै एमसीसीको बिरुद्धमा देख्छु । राष्ट्रको लागि सत्तामा होस वा प्रतिपक्षमा होस, सडकमा वा सदनमा होस दुईवटा मापदण्ड हुनसक्छ ? यही दुई जिब्रे राष्ट्रबादले नेपालको विकासमा अबरोध पुराएको छ ।
अहिलेको अवस्थामा नेपालको परराष्ट्र नीतिमा एकरुपता छैन ?
मैले तपाईंलाई भने हाम्रो संविधानमा नै स्पष्ट ब्याख्या गरेको छ । असंलग्न परराष्ट्र नीति पञ्चशीलको आधारमा गर्छौं । यस विषयमा नकारात्मक बहस गरेर नेपाललाई अधोगतितिर लग्ने हुन् । मलाई यस विषयमा धेरै बहस गर्नुछैन् । अमेरिकाको विरोध गरेर कसैलाई ओठेभक्ति देखाउनुपनि छैन् । भारतको विरोध गरेर म राष्ट्रवादी हुन्छु भन्नेपनि छैन् । म बहुदलीय प्रजातन्त्रमा विश्वास गर्छु । चीन अलग खालको राजनीतिक व्यवस्थामा छ, तर पनि हामी चीनसँग असल मित्र भएर अघि बढ्नुपर्छ । असंलग्नता नै नेपालको स्थायित्वको मूल जड हो भन्ने परराष्ट्र नीतिको विद्यार्थी भएकोले जे भइरहेको छ, गलत भइरहेको छ । जसले विरोध गरिरहेका छन्, उनीहरुको आयस्रोत के हो त्यो पनि खोजी गर्नुपर्छ । यस्ता कुराहरु गर्ने कथित् राजनीतिक विश्लेषकहरुलाई म चुनौतीका साथ भन्छु तपाईंहरुको सुचनाको स्रोत के हो ? नेपाली जनताले जान्न पाउनुपर्छ । file photo/ReportersNepal