Logo

देउवासँगै थिएँ र देउवासँगै छुः विश्वप्रकाश शर्मा



काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा दोस्रो पटक सभापतिमा उम्मेद्वार बन्न चाहनु स्वाभाविक भएको बताएका छन् । आफू देउवा समूहमै रहेको र नयाँ–पुरानो पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको धारणा छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले भने, “मैले भदौ २४ गते बीपी स्मृति दिवसमा सुन्दरीजल गएर महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेको हुँ । यसक्रममा मैले सभापति, उपसभापति, वरिष्ठ नेताहरुसँग खुला र पारदर्शी भेटघाट गरेको हुँ । महामन्त्रीको उम्मेद्वार बन्दै गर्दा सभापतिका उम्मेदवारहरुसँग परामर्श हुनु स्वाभाविक हो । तपाईंहरुलाई थाहा छ कि छैन, म प्रवक्ता बनेर देउवासँग बसेको होइन । तेह्रौं महाधिवेशनमा मैले विमलेन्द्र निधि, पूर्णबहादुर खड्काकै पंक्तिमा रहेर देउवालाई साथ दिएको हुँ । त्यो पनि दोस्रो चरणमा होइन, पहिलो चरणमै । त्यसकारण यसमा अन्यथा सोच्ने कुरा हुन्न ।”

तपाईंले अब सभापतिमा देउवालाई समर्थन गर्ने कि निधिलाई भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले थपे, “हाम्रो विचार समूहमा अहिले शेरबहादुर देउवासँगै गोपालमान श्रेष्ठ, विमलेन्द्र निधिले पनि सभापतिमा आकांक्षा राख्नुभएको छ । तर हामी सबै जना एक ठाउँमा उभिएर अगाडि जान्छौं । एउटा कुरा के भने २० वर्षदेखि सभापति हुनुभएको होइन, एक पटक सभापति बन्नुभएको हो, दोस्रो पटक हुन लाग्नुभएको हो । उपसभापतिले सभापतिको दाबी गर्नुभएको हो, पाका नेता भएकाले गोपालमानले दाबी गर्नुभएको हो, यो सबै कुरा छलफलकै क्रममा छ । त्यसैले यसबाट कोही पनि विचलित हुनु जरुरी छैन ।”

पार्टीमा यही पुस्ताले मात्र नेतृत्व गर्छ भन्न नमिल्ने उनको जिकिर छ । शर्माले भने, “कतिपय परिवारमा चार पुस्ता हुन्छ, कुनैमा तीन पुस्ता । हजुरबा, हजुरआमा, बुबाआमा, स्कुल-कलेज गइरहेको नाति पुस्ताको परिवार सुन्दर हुन्छ, जीवन्त हुन्छ । नेपाली कांग्रेस पनि पुरानो पार्टी भएकाले विभिन्न पुस्ता समेटिएका छौं । कहीँ पुरानो पुस्ताले नेतृत्व गर्छ त कहीँ नयाँ पुस्ताले । नेतृत्व भनेको हरियो रुखजस्तै हो, पुरानो भए पनि नयाँ भए पनि दिने अक्सिजन नै हो । त्यसले पार्टीलाई तरोताजा बनाइराख्छ ।”

निर्वाचनको कार्यतालिका १५ दिन अगाडि या पछाडि भए पनि महाधिवेशन सुनिश्चित भएको उनले बताए । उनले भने, “जहाँ क्रियाशील सदस्यता नामावलीको विवाद टुंगियो, त्यहाँ प्रक्रिया सुरु भइसक्यो, जहाँ टुंगिएको छैन, त्यहाँ पनि प्रक्रिया सुरु हुन्छ ।”

देउवा सरकार सफल र असफल दुवै भन्न नमिल्ने उनको टिप्पणी छ । केपी शर्मा ओलीले त सरकार असफल भएकाले तत्काल निर्वाचनमा जानुपर्छ भन्नुभएको छ नि भन्ने प्रश्नमा प्रवक्ता शर्माले भने, “आलोचना लोकतन्त्रको सौन्दर्य हो । तर दुई महिनामै सरकार असफल भएको भन्ने व्याख्यामा हामी सहमत हुन्नौं । त्यसो भए त ओलीको सरकार १२ चोटि असफल हुन्थ्यो होला । हामी अहिले महाधिवेशनको तयारीमा व्यस्त छौं । लोकतन्त्रमा निर्वाचन स्वाभाविक भए पनि सरकारले काम गरिरहेको छ, संसद्ले निकास नदिएको पनि होइन । उहाँले त बरु जनादेशको अपमान गरेर संसद् विघटन गरेको हो । सत्ता गठबन्धनमा छलफल नगरी विपक्षसँग सुटुक्क चुनावको तयारी गरेको भन्ने कल्पनै नगरियोस् ।”

संसदीय व्यवस्थामा सामान्य अवरोध हुँदैमा विघटन या निर्वाचनमा जान नहुने पनि उनले बताए । उनले थपे, “अहिले संसद्मा द्वन्द्व भयो भनेर चुनावमा जाने हो भने पछि पनि त द्वन्द्व हुन सक्छ । अर्को संसद् बन्नेबित्तिकै फेरि चुनावमा जाने त ? कांग्रेसको महाधिवेशन अगाडि हामी निर्वाचनबारे सोच्दैनौं । त्यसपछि त निर्वाचन नजिकिँदै गइहाल्छ । कसैको मनमा लागेका कुराले देशले मार्ग लिँदैन । हामी संयमतापूर्वक निर्वाचनमा जान्छौं । निर्वाचनमा जितेर आउँछौं ।”

देउवा सरकारले पूर्णता पाउन बाँकी भए पनि खोपका मामिलामा सरकारले जनतालाई आश्वस्त तुल्याएको दाबी उनले गरे । कांग्रेस प्रवक्ताले भने, “यो कांग्रेसको एकल सरकार होइन । गठबन्धन दलले नाम नदिएकाले विस्तार नभएको हो । देउवाको प्राथमिकता छ, खोप, खोप, खोप । अहिले प्रधानमन्त्रीको तदारुकता त्यसमै छ । कति जना मन्त्री भए खोप पाउने हो भन्ने अवस्था छैन । विश्वभरि नै अहिले हरेक सरकारको समीक्षाको विषय खोपलाई बनाइएको छ । यस मानेमा सरकार सफल छ । जनतालाई पहिले निर्वाचन होइन, पाखुरीमा खोप चाहिएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot