सिन्धुपाल्चोक, १३ असोज । इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्ले पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो ।
छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गरे। सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आभार व्यक्त गरे । रासस