Logo

नवलपुरका थारु समुदायले यसरी मनाउँदैछन्, ‘जितिया पर्व’



नवलपुर, १३ असोज । थारु महिलाको महान पर्वको रुपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर मनाउँदैछन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला व्रत बस्ने दिनका रुपमा चिनिने पर्व हो, जितिया । जितिया पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराईका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् । यस व्रत वा उपवासको क्रममा जितबाहन भगवानको कथा र जहिमा सुन्ने गरिन्छ । थारु महिलाको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध छ ।

आज थारु समुदायका महिला ‘झाम्टा’ नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । आज बिहानै उठेर नुहाइधुवाइ गरी बेलपत्र टिपेर पूजा तथा नाचगान गर्दै दिनभर महिला तथा युवती यो पर्व मनाउने गर्दछन् । जितिया आउनुअघि नै नवलपुरका थारु समुदायमा चहलपहल र रमझम सुरु हुने गर्दथ्यो । तर, यसवर्ष कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण यो पर्वको खासै रौनक र चहलपहल छैन ।

थारु समुदायको बाक्लो बसोबास रहेको जिल्लाको मध्यविन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेष उल्लास हुने गर्दथ्यो । यो वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण थारु समुदायका महिला खुला तरिकाले झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउन सकिरहेका छैनन् । महिला तथा युवती आ–आफ्नो घरमा सुरक्षित रहेर घरपरिवारमा सीमित जितिया मनाइरहेका छन् ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । मङ्गलबार सप्तमीको दिन भएकाले महिला बिहानै खोला, तालतलैया, नदी, पोखरीमा गएर स्नान गरेपछि मात्रै ‘दर’ खाएका थिए । आज बुधबार अष्टमीको दिनमा महिला बिहानै नुहाइघुवाइ गरी सफा र शुद्ध कपडा लगाएर बिहानैदेखि पानी पनि नखाइ निराहर ‘उपवास’ व्रत बसेर झम्टा नाच नाचेर मनाउँछन् ।

महिला नयाँ सांस्कृतिक वेषभूषा लगाइ दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख व्रतालु फेरि खोलामा गई नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा सुन्ने प्रचलन छ । रुखको चारैतिर व्रतालु महिला फलफूल, पानी, दूध, दही, जथै भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउछ ।

कथा सकिएपछि सबै जना घर गएर ‘फलाहार’ (व्रत बसेको दिनमा बेलुकी पख कथा सुनिसकेपछि) दही, केरा, चिउरा, फलफूल (खाइने खानेकुरा) गर्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि व्रतालुले दही, चिउरा, केरालगायतका खानेकुरा खान्छन् । तर, खानुभन्दा अगाडि आगोको गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानेकुराको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । सन्तानको दीर्घजीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रेहेको मध्यविन्दु नगरपालिका–३ का वडाध्यक्ष अमरबहादुर महतोले बताए । यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्