Logo

चीनको नाकामा कडाईः गर्मीका लागि ल्याइएको सामान जाडो लाग्दा पनि सीमामा रोक्किए



काठमाडौं, १३ असोज । चीनले नेपालसँगको सीमा नाकालाई बन्द जस्तै बनाएको छ । नाकाबन्दी जस्तै अवस्था हुँदा सामानहरुको आयात सुस्त भएको छ । निर्यात ठप्प नै छ । चीनले गरेको कडाईका कारण नेपाली व्यापारीहरुले गर्मी मौसममा बिक्री गर्नका लागि ल्याएका सामना जाडो सुरु हुनलाग्दा पनि ल्याउन सकेका छैनन् । सीमामा सामानहरु अलपत्र परेका छन्। तत्कालीन केपी शर्मा ओली सरकारले नाका सहज बनाउन ठोस पहल चाल्‍न नसक्दा सामानहरु नाकामा अलपत्र परेका हुन् ।

ओली सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपालसँगको व्यापारमा चीनले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले भने चीनले चाँडै नाका खुल्‍ने र सामान फिर्ता हुने बताएका थिए। कोरोनालाई कारण देखाएर चीनले नाकामा कडाई गरेको हो । यसबाट नेपाली व्यवसायी डुबेका छन् ।
सामान समयमै आइनपुग्दा अभाव देखिएको छ । जसका कारण विगत वर्षका तुलनामा लत्ताकपडा दोब्बर मूल्य पर्न थालेको छ ।

नेपालको समृद्धिको लागि सहयोग गर्ने भन्दै आएको चीनले नेपाली व्यवसायीलाई भने संकटमा पारेको छ। तातोपानी र रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ नगएको दुई वर्ष भयो। यी नाका हुँदै नेपाल वस्तु भित्र्याउन पनि कडा चिनियाँ शर्त मानेर कोटा प्रणालीको पालना गर्नुपर्छ।

नेपाल र चिनियाँ अधिकारीबीच पछिल्लो समय भएको वार्तामा चीनबाट दैनिक ११ कन्टेनर आउन दिने शर्त चिनियाँ पक्षले राखेको छ। नेपालले दैनिक ३० कन्टेनर आउन दिनुपर्ने माग गरेको भए पनि चीन पक्षले भने उक्त शर्त मान्‍न नसकिने बताएको छ। नेपाली व्यवसायीहरुले गर्मी मौसा र दसैंका लागि ल्याएका सामानहरु सीमा क्षेत्रमा अलपत्र परेका छन्।

चिनियाँ शर्त अनुसार दैनिक ११ कन्टेर आउँदा सीमामा अलपत्र ११ सय कन्टेनर आउनका लागि कम्तिमा पनि एक सय दिन लाग्छ। अबको सय दिनमा गर्मी मौसमका लागि ल्याइएका सामानहरु काम नलाग्‍ने हुन्छन् भने कयौं सामानहरु भने कुहिने र सड्‍ने हुन्छन्। अझै पनि कन्टेनर आउनेक्रम जारी रहेकोले ती कन्टेनरहरु कहिले नेपाल आइपुग्छन् भन्‍ने कुनै टुंगो छैन।
गत वर्ष चिनियाँ सीमा क्षेत्रमा सामान अलपत्र परेका एक व्यवसायीले टाट पल्टिएको भन्दै आत्महत्यासमेत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot