काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रकारको एकतामा केन्द्रित भएका छन् । उनले पूर्वमाओवादीलाई एक ढिक्का बनाउने प्रयास थालेका छन् । जसको खुलासा यसै हप्ता गरिसकेका छन् ।
प्रचण्डले पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, गोपाल किराँतीलगायतसँग एकताको पहल थालेका हुन् । प्रचण्डले सबै सँग एकताका लागि छलफल बढाएका छन् । उनले काभ्रेमा बोल्दै यसै हप्ता भने, ‘हाम्रो छलफल चलिरहेको छ । विप्लवजी, किरणजीसँग छलफल चलिरहेको छ । बाबुराम र उपेन्द्रजीसँग गठबन्धनमा छौं । मोहनविक्रम सिंहसँग छलफल चलिरहेको छ ।’ छिट्टै एउटा केन्द्र बनाउन लागेको समेत बताए ।
अहिले प्रचण्डले एकता गर्न खोजेको शक्तिहरु सबै कडापन्थी कम्युनिस्टहरु हुन् । उनीहरुलाई समेटेर उनी बलियो शक्ति बन्नेतर्फ बढ्न खोजेका छन् । त्यसमा जसपलाई पनि समेट्ने उनको रणनीति देखिन्छ । जसपासँग कम्तिमा चुनावी कार्यगत एकता प्रचण्डको उद्देश्य देखिन्छ ।
सुरुमा पूर्वमाओवादी मिलाउने र त्यसपछि मोहन विक्रम सिंहलगायतसँग पनि मिलेर जाने उनको योजना देखिन्छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पनि विगतमा माओवादीसँग जोडिएका हुन् । यसकारण पनि प्रचण्ड पूर्वमाओवादीलाई मिलाएर जान खोजिरहेका छन् ।
माओवादी विगतमा एकढिक्का हुँदा सशस्त्र जनयुद्धबाट शक्ति आर्जन गरेको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो संविधानसभा चुनावमा उल्लेख्य सफलता हासिल गरेको थियो । प्रचण्डमा यही अवस्था पुनरावृत्त गर्ने चाहना बढेको देखिन्छ ।
प्रचण्डले पछिल्लो समय आफूहरु बहुमत ल्याउने उद्देश्यका साथ लागेको बताएका छन् । उनको यो भनाई अर्थपूर्ण छ । प्रचण्डले विस्तारै विभिन्न कम्युनिस्ट घटकलाई एकढिक्का बनाउँदै जान खोजेका छन् । कतिपय शक्तिसँग सहकार्यको पहल थालेका छन् । यसबाट उनी महत्वाकांक्षी एकतामा सक्रिय भएको देखिदैछ ।