Logo

ब्लड क्यान्सरपीडित बालकको उपचारमा रु पन्ध्र लाख बढी सहयोग



रामपुर (पाल्पा), १४ असोज: ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।

हालसम्म रु पन्ध्र लाख ८७ हजार २४९ सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरिएको अभियानका संयोजक रामबहादुर रानाले बताए । उहाँका अनुसार अझैपनि देश तथा विदेशमा बस्ने व्यक्तिबाट सहयोग रकम आउने क्रम जारी छ । उनले भने, “परिवारको आर्थिक अवस्था नाजुक हुँदा उपचारमा समस्या परेपछि सहयोग रकम उठाउन थालियो, लामो समयसम्म अस्पतालको बसाइँ पश्चात अहिले बालक घर आएका छन्, रोग पनि निको हुँदै गएको छ ।”

भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत रानाको उपचारमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको छ । बालक रानाको बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ । सहयोग गर्न चहाने व्यक्तिले बालकका आमा लीला रानाको नाममा गरिमा विकास बैंक रामपुर शाखामा रहेको खाता नं. ००३०१३०००६५५५४०००००१ रकम जम्मा गरी सहयोग गरिदिनहुन सबैमा अपिल गरिएको छ ।

अस्पतालमा गत चैत २९ गतेदेखि पाँच महिना बढीको समय भर्ना गरी नियमित उपचार पाएपछि बालक रानाको रोग निको हुँदै गएको आमा लीला रानाले बताए । सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

ब्लड क्यान्सर रोग देखिनु पन्ध्र दिनअघि देब्रे कान दुख्ने समस्या देखियो, त्यसपछि बिस्तारै दाहिने कान दुखेर सताउन थालेपछि रामपुर अस्पतालमा उपचारका निम्ति लगियो । रगत परीक्षणमा खराबी देखिएपछि थप उपचारका निम्ति बुटवलस्थित नर्सिङ होम हस्पिटलमा गत चैत २५ गते पु¥याइयो । उपचारको क्रममा नाक, मुखबाट रगत बग्न थालेपछि अस्पतालको सल्लाहअनुसार थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा गत चैत २९ गतेबाट भर्ना गरेर उपचार सुरु गरिएको हो ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्