काठमाडौं, १४ असोज । केन्द्रमा सरकार गठन गरेको गठबन्धनले बागमती प्रदेशको सरकार बनाउन सक्ने अवस्था छ । बहुमत काँग्रेससहितको गठबन्धनसँग छ । तर, मुख्यमन्त्री को बन्ने टुंगो नलाग्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार टिकिरहेको छ ।
बागमती प्रदेशमा नेपाली काँग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्रीका लागि बढाउन सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चालिसकेका छन् । उनले मुख्यमन्त्री दाबी गरेको नेकपा एसलाई मनाउन पहल थालेका हुन् ।
नेकपा एसले भने प्रदेश १ र बागमती प्रदेश दुवैमा मुख्यमन्त्री दाबी गरिरहेको छ । राजेन्द्र पाण्डे मुख्यमन्त्रीका प्रबल दाबेदार देखिएका छन् ।
बानियाँ या पाण्डेमध्ये कुनै एकजना रोकिने पक्कापक्की भएको छ । काँग्रेस र नेकपा एस दुवैका दाबीका कारण अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले चाँडबाँड कटाउन सक्ने सम्भावना पनि देखिन थालेको छ ।