काठमाडौं, १४ भदौ । इपिएलको चौथो संस्करणमा भैरहवा ग्ल्याडियटर्स र साविक विजेता ललितपुरबीचको खेल बराबरीमा सकिएको छ । दुवै टोलीको स्कोर बराबर भएको र मैदानमा लाइट नभएको कारण सुपर ओभर हुन नसकेपछि १–१ अंक बाँडेका छन् । ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
भैरहवाका लागि उपुल थरंगाले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कुशल मल्ल ३५ रन तथा आरिफ शेखले २८ रनमा आउट भए । तमिम इकबालले १४ रन बनाए । प्रदिप ऐरी र रोहित पौडेल समान २/२ रनमा आउट भए ।
ललितपुरका राशिद खान र रिजन ढकालले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, अज्मतुल्लाह ओमारजाईले ४२ रन बनाए ।
सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए । त्यस्तै योगेन्द्र सिंह कार्कीले ७ रन जोड्दा कप्तान कुशल भुर्तेल २ रनमा आउट भए । पवन सर्राफले १ रनमा आउट हुँदा नारायण जोशी सुन्य रनमा अविजित रहे । भैरहवाका अविनास बोहराले २ विकेट लिए । धम्मिका प्रसाद,कृष्ण कार्की र आरिफ शेखले १/१ विकेट लिए ।