Logo

प्रचण्डको आक्रामक अभिव्यक्तिः लड्ने, मर्ने देखि सुसाइडसम्म



काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार आक्रामक अभिव्यक्ति दिएका छन् । अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दा उनले लड्ने, मर्ने, आत्महत्या गर्ने जस्ता कठोर शब्दको बढी प्रयोग गरे ।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापाको नामै तोकेर चुनौती दिए । उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका भीम रावलसहित १० प्रभावशाली नेताको नाम नतोकी १० भाई लुत्रुक्क परेर ओलीसँग आत्मसमर्पण गर्न पुगेको टिप्पणी गरे ।

चिनियाँ नेता माओत्से तुङले उत्तराधिकारी तोक्दा लिन प्याओले गोली ताकेको घटना विवेचना गरे । उनले आफूले त्यस्तो गल्ती नगर्ने बताए ।

ओली झुटलाई सत्य जसरी प्रस्तुत गर्न सक्ने खुबी भएको भन्दै आलोचना गरे । उनले ओलीलाई अपराधीसम्म भने ।

प्रचण्डले माओवादी छाड्ने नेताहरु पदका लागि गएको आरोप लगाए । आफूले मन्त्री बनाएकाहरु नै पतन भएको टिप्पणी गर्दै रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतको आलोचना गरे ।

माओवादीभित्र मन्त्री पाइएन भनी रुनेहरु देखिन थालेको भन्दै आलोचना गरे । पछिल्लो समय मन्त्री बन्ने दौड माओवादीभित्र तिव्र भएपछि प्रचण्डले खरो टिप्पणी गरेका हुन् ।

प्रचण्डले आफू जोखिम मोल्न सधै तयार भएको सुनाए । उनले नेकपाभित्र गरेको संघर्षबारे स्मरण गराउँदै हेडक्वार्टरमै बम हानेको टिप्पणी गरे ।

प्रचण्डले भने,‘ म आत्महत्या गर्न सक्दिनँ । मेरो टाउकोमा हजारौं सहिदहरुको ऋण छ । कि सकिन भनेर सुसाइड गर्नुपर्छ ।’

उनले आफू लड्ने या मर्ने ठाउँमा आइपुगेको सुनाए । बरु लड्ने आत्महत्या नगर्ने बताए । प्रचण्डले आफूलाई भौतिक रुपमै सिध्याउने षड्यन्त्रहरु पटक पटक विफल पारेको बताए ।



प्रतिक्रिया दिनुहोस्