Logo

पूर्वमाओवादी मिलाएर चुनाव लड्ने प्रचण्डको रणनीति



काठमाडौं, १५ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो छिटो चुनाव गर्दा पार्टी र आफूलाई लाभ हुने आँकलनका साथ बढेका छन् । उनले कम्युनिस्टहरु विभाजित रहेको र काँग्रेसको बलियो आधार रहेको मधेशमा समेत क्षेत्रीय शक्ति विभाजित रहेको देखेका छन् । यसबाट चुनावी लाभ लिन सकिने आँकलन देउवाको देखिन्छ ।

विगतमा पनि देउवा नेतृत्वकै सरकारले चुनाव गरेको थियो । २०७४ सालमा आमनिर्वाचनभन्दा केही महिना अघि प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर चुनावी गठबन्धन बनाए । देउवाले नसोचेको घटना विकास भयो । कम्युनिस्टहरु मिलेर चुनावमा सफलता हासिल गरे ।

प्रचण्डलाई देउवाले स्थानीय निकायको निर्वाचनमा भित्री साथ दिएका थिए । जसको लाभ प्रचण्डले लिएका थिए । तर, संसदीय र प्रदेशको चुनावमा लाभ लिन प्रचण्डले ओलीसँग हात मिलाए ।
अहिले देउवाले फेरि प्रचण्डसँग सहकार्य गरिरहेका छन् । सत्ता गठबन्धनमा साथ छन् । चुनावमा पनि भित्री गठबन्धन बनाउने आशयका साथ अभिव्यक्तिहरु आइरहेका छन् । तर, काँग्रेसले कम्युनिस्टसँग चुनावी गठबन्धन बनाएर जाने सम्भावना देखिदैन । मधेश केन्द्रित दलका नेताहरुसँग पनि गठबन्धनको सम्भावना न्यूनप्रायः छ । गएको चुनावमा पनि गठबन्धन बन्न नसकेको हो ।
देउवा अर्ली इलेक्शनको बाटोमा बढिरहँदा प्रचण्डले चुनावी तयारी गरिरहेका छन् । उनले पूर्वमाओवादीलाई एक ठाउँमा ल्याउने गरी सक्रियता बढाइसकेका छन् ।

प्रचण्डको यसपटक एमालेसँग मिलेर जाने सम्भावनाको ढोका बन्द भइसकेको छ । अब उनको ध्यान अन्य कम्युनिस्ट शक्ति र पूर्व कम्युनिस्टमा जान थालेको छ । प्रचण्डले त्यसका लागि कुराकानी बढाइसकेका छन् । प्रचण्ड नयाँ प्रकारको एकतामा केन्द्रित भएका छन् । उनले सुरुमा पूर्वमाओवादीलाई एक ढिक्का बनाउने प्रयास थालेका छन् ।

प्रचण्डले पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, गोपाल किराँतीलगायतसँग एकताको पहल थालेका हुन् । प्रचण्डले सबै सँग एकताका लागि छलफल बढाएका छन् । उनले काभ्रेमा बोल्दै यसै हप्ता भने, ‘हाम्रो छलफल चलिरहेको छ । विप्लवजी, किरणजीसँग छलफल चलिरहेको छ । बाबुराम र उपेन्द्रजीसँग गठबन्धनमा छौं । मोहनविक्रम सिंहसँग छलफल चलिरहेको छ ।’ मोहनविक्रम उनका राजनीतिक गुरु पनि हुन् । छिट्टै एउटा केन्द्र बनाउन लागेको समेत बताए ।

अहिले प्रचण्डले एकता गर्न खोजेको शक्तिहरु सबै कडापन्थी कम्युनिस्टहरु हुन् । उनीहरुलाई समेटेर बलियो शक्ति बन्नेतर्फ बढ्न खोजेका छन् । त्यसमा जसपलाई पनि समेट्ने उनको रणनीति देखिन्छ । जसपासँग कम्तिमा चुनावी कार्यगत एकता प्रचण्डको उद्देश्य देखिन्छ । सुरुमा पूर्वमाओवादी मिलाउने र त्यसपछि मोहन विक्रम सिंहलगायतसँग पनि मिलेर जाने उनको योजना देखिन्छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पनि विगतमा माओवादीसँग जोडिएका हुन् । यसकारण पनि प्रचण्ड पूर्वमाओवादीलाई मिलाएर जान खोजिरहेका छन् ।

माओवादी विगतमा एकढिक्का हुँदा सशस्त्र जनयुद्धबाट शक्ति आर्जन गरेको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो संविधानसभा चुनावमा उल्लेख्य सफलता हासिल गरेको थियो । प्रचण्डमा यही अवस्था पुनरावृत्त गर्ने चाहना बढेको देखिन्छ । प्रचण्डले पछिल्लो समय आफूहरु बहुमत ल्याउने उद्देश्यका साथ लागेको बताएका छन् । उनको यो भनाई अर्थपूर्ण छ । प्रचण्डले विस्तारै विभिन्न कम्युनिस्ट घटकलाई एकढिक्का बनाउँदै जान खोजेका छन् । कतिपय शक्तिसँग सहकार्यको पहल थालेका छन् । यसबाट उनी महत्वाकांक्षी एकतामा सक्रिय भएको देखिदैछ ।

प्रचण्डले भरसक एउटै पार्टी बनाउने नभए गठबन्धन बनाएर भएपनि जाने रणनीति बनाएका छन् । त्यसका लागि बाबुराम भट्टराईसँग सरसल्लाह बढाइरहेको बुझिएको छ । प्रचण्डले विप्लवलाई फकाइरहेका छन् । विप्लवका छोरा प्रकाश खुमलटारमा बढी आउजाउ गरिरहेका छन् । मोहन वैद्य किरणलाई पनि फकाइरहेका छन् । उपेन्द्र यादवलाई पनि प्रचण्डले साथमा ल्याउन खोजिरहेका छन् । प्रचण्डको माधवकुमार नेपालको नेकपा एससँग चुनावी गठबन्धनको सम्भावना बलियो छ । यसरी प्रचण्ड पहिलो शक्ति बन्ने दाउमा छन् ।



प्रतिक्रिया दिनुहोस्