काठमाडौं, १४ असोज । वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले सरकार गठन हुन नसक्नु र अध्यादेशबाट कुनैपनि कार्य गर्नु परिरहेको अवस्थामा देशलाई राम्रो बाटोमा नपुर्याउने टिप्पणी गरेका छन् । हालै रिपोर्टर्स क्लब नेपाल युट्युब च्यालनमार्फत प्रशारण भएको ‘वैचारिक मन्थन्’ कार्यक्रममा पत्रकार सचिना बायिनाँसँगको कुराकानीमा उनले कानूनमा लेखिएका कुरा कार्यान्यवन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यदि कार्यान्ययन गर्न नसकिएमा त्यो जिउदो हुँदैन मरिसकेको हुन्छ ।’ उनले जनताको मन जितेर निर्वाचित भएका नेताहरुले जनताहसँग गरेका आफ्नो वाचालाई बिर्सिएको समेत आरोप लगाए ।
नेताहरुले योग्यताको आधारमा भन्दा पनि आफुले भनेको मान्ने र आफुमा आवद्ध भएका व्यक्तिलाई अवसर दिँदा देश बन्न नसकेको उनको गुनासो छ । उनले नेताहरुमा कसरी आफु पावरमा पुगौं भन्नेमात्र सोच हाबी भएको पनि टिप्पणीप् गरे । नेताहरुमा सत्ता प्राप्तिको लागि जेपनि गर्नसक्ने दृिष्टकोण भएकोले देश अस्थिरतामा फसेको उनको भनाई छ ।
बहुमतको सरकारको नेतृत्व गर्न पाएका केपी शर्मा ओलीले सबैभन्दा पहिला हिजो भएका विकृतिलाई हटाउन पर्नेमा त्यसो नगरेको र धेरै राम्रो अवसर खेर फालेको गान्धीको टिप्पणी छ । उनले भने,‘उहाँ त दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले भ्रष्टाचार निर्मुल पार्ने र विकास निर्माणका काममा ध्यान दिन पर्दथ्यो । तर, उहाँले त्यसो गर्नुभएन । सुनौलो अवसर खेर फाल्नुभयो ।’ योग्यताको आधारमा सक्षम व्यक्तिलाई नियुक्ति दिएको र काम गर्ने अवसर दिएको भए ओलीको विरोध गर्ने अवस्था नआउने उनको भनाई थियो ।
ओलीले आफ्नै घमण्डको कारण सरकारबाट बाहिरिनु परेको पनि उनको दाबी छ । उनले पार्टीभित्र विरोध भएर अन्तमा पार्टी फुटेको भन्दै ओलीले मुली भएर पनि पार्टी सम्हाल्न नसकेको बताए । एमाले विभाजन हुनुमा नेपाली कांग्रेस र यसका सभापति शेरबहादुर देउवाको कुनै हात नरहेको बरु एमालेभित्रकै आन्तरिक द्धन्द्धले फुटेको पनि उनको टिप्पणी छ ।
संघीय व्यवस्था राम्रो भएपनि लक्ष्यानुसार अगाडि बढ्न नसकेको उनले बताए । संघीयता कार्यान्वयनको लागि केन्द्रले संविधानको मर्म र भावनाअनुसार अधिकार प्रत्यायोजन गर्नुपर्ने उनको सुझाव छ । उनले भने,‘आज जुन अवस्थामा संघीयता चलिरहेको छ, यसले पछिसम्म धान्ला जस्तो लागेको छैन् । संघियता आफैँमा नराम्रो नभई यसको नेतृत्वमा बस्नेहरु चालकहरुको भूमिका सन्तोषजनक नभएको गान्धीको भनाई छ ।
उनले सबै पार्टीको संसद भएपनि शेरबहादुर देउवाले व्यक्तिगत भोटको आधारमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री भएको बताए । उनले भने,‘देउवाविरुद्ध आजको दिनमा दलीय अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन ।’ उनले अहिलेको नेपालको राजनीतिक घटनाक्रम हेर्दा आगामी दिन सजिलो नभएको उल्लेख गरे । उनले प्रधानमन्त्री देउवालाई पनि ठुलो चुनौती रहेको बताए । यो समयलाई सही तरिकाले ह्यान्डल गर्न नसके देउवा असफल सावित हुने उनको टिप्पणी छ ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर खराब सुरुवात एमाले अध्यक्ष ओलीले गरेको र ओलीकै सिको गरेर देउवाले पनि गल्ती दोहोर्याएको उनको आक्रोश छ । एमालेले संसद् अवरोध गरेर गम्भीर गल्ती गरिरहेको बताउँदै उनले तत्काल सदनको अवरोध खुलाउन दलहरु जिम्मेवार भएर लाग्नुपर्ने पनि बताए । उनले एमसीसी संसद्बाट पास हुनपर्ने धारणा राखे ।