–विपिन देव: अक्टोबर २ मा महात्मा गान्धीको जन्म दिवसको अवसरमा विश्वभरि अहिंसा दिवस मनाउने गरिन्छ । खास गरेर संसार हिँसा र द्वन्द्वबाट आक्रान्त रहेको बेला अहिंसा दिवसको महत्व अधिक हुने गर्दछ । वर्तमान परिवेशमा द्वन्द्व र हिँसाको छायाँमा राजनीति र कुटनीति परिचालित भइरहेको छ । अफगानिस्तानमा तालिवानको कब्जा, भारत–चीन सीमा विवाद एवम् युद्ध उन्मुख अवस्था, इजरायल–अरबको टकराव, दक्षिण चीन सागरको सम्भावित कुरुक्षेत्रको रुप, आर्मेनिया र अजरबैजानको द्वन्द्वजस्ता उदाहरणको मानव सभ्यता र मानव अस्तित्वलाई नै चुनौती दिइरहेको अवस्था छ । ट्रान्स एटलान्टिकबाट अर्थतन्त्र र सामरिक तयारी ट्रान्स प्यासिफिकतर्फ मुखरित भएको छ । अर्थात् द्वन्द्व र विकास एसियामा हस्तान्तरित भएको छ । यस सन्दर्भमा गान्धीको दर्शन, दिग्दर्शन र मार्गदर्शनको महत्व एसियामा झन् अधिक बढेको छ । हुनतः गान्धीलाई एउटा देश, महादेश र सम्प्रदायको आलोकमा हेर्नु गान्धीमा अन्याय गर्नु हो ।
गान्धी वास्तवमा एउटा विचार मात्रै होइन, यो एउटा जीवनशैली र सोच पनि हो । गान्धीको जीवनशैलीलाई सुत्रात्मक ढंगले व्याख्या गर्दै गान्धीको नाती अरुप गान्धीले आफ्नो बाल्यकालको अनुभूति र अनुभवलाई स्मरण गर्दै के भनेका छन् कि गान्धी दर्शन एक किसिमको संस्कार पनि हो । बाल्यकालमा अरुप गान्धीले स्कुलबाट फर्किदा एउटा सिसाकलम बाटोमा हराएका रहेछन् । आफ्ना बाजे महात्मा गान्धीलाई एउटा नयाँ सिसाकलम किन्न ढिपी गर्दा गान्धीले सिसाकलम निर्माणमा प्रकृतिको दोहन कति भएको छ भने ज्ञान आफ्ना नातीलाई दिए । साथ–साथै गरिब बच्चाहरु सिसाकलमबाट बन्चित रहेको कुरा पनि आफ्नो नातीलाई उपदेश दिँदै सिसाकलम खोज्न लगाए । अर्थात् मितव्ययिता र वस्तुको महत्वबाट नै गान्धी दर्शन अंकुरित हुन्छ । गान्धीको मुर्धन्य शिष्य डा. लोहियालाई चुरोट सेवन गर्ने बानी थियो । एक दिन लोहियालाई सरल र मधुर भाषामा गान्धीले प्रश्न गर्दै के भने कि नेताहरुको जीवनको खर्च साथीभाइको आम्दानीमा नै निर्भर भएकोले गर्दा नेताहरुलाई अपव्यय गर्ने कुनै नैतिक अधिकार छैन । डा. लोहिया गान्धीको उपदेशलाई जीवनको प्रमुख पुँजी बनाई गान्धी दर्शनबाट कहिले पनि विचलित भएन ।
तत्कालीन समयमा गान्धीको लागि ठुलो चुनौती भारतको स्वतन्त्रता सङ्ग्राम भएता पनि गान्धी जीवनको धेरै प्रश्न र समस्याहरुबाट जुधिरहेका थिए । छुवाछुत नारी हक–अधिकार, चर्खा आन्दोलन, स्वच्छता, स्वदेशी, मितव्ययिताजस्ता अनेकौं मौलिक मुद्दाहरुमा अन्वेषण र प्रयोग गान्धीले गरिरहेका थिए । गान्धी विमति र विवादलाई उच्च प्राथमिकता दिन्थे । वास्तवमा गान्धी दर्शन विवाद र विमतिबाट नै पल्लवित भएको छ । सावर करसँग विमति, शुभाष चन्द्र बोससँग विमति, डा. अम्बेडकरसँग फरक दृष्टिकोण, जिन्नासँग मतभेदलाई गान्धीले सहज रुपमा लिँदै सबै विचारहरुसँग शास्त्रार्थ र पत्राचार गरेर संवादको निर्माण गर्ने गर्थे । लोकतन्त्र र संवादबीच नङ र मासुको जस्तो सम्बन्धलाई गान्धीले जीवनभर आत्मसात गरेका थिए । अर्थात् कुनै पनि समस्यालाई विरोधीको चश्माबाट हेर्नु गान्धी दर्शनको सुत्रात्मक आग्रह हो । इसामसीपछी संसारमा सर्वाधिक कृति प्रकाशन, शोध र अनुसन्धान भएको विषय नै गान्धी दर्शन हो । गान्धी आफ्नो कार्यसम्पादन र रणनीतिलाई अगाडी बढाउन नेहरु, राजाजी र पटेललाई बढी उपयोग गर्ने गर्थे ।
एक लेखकले व्याख्या गर्दै के भनेका छन् कि राजाजी गान्धीका दिमाग थिए भने पटेल उनका हात । तर दिमाग र हातलाई प्रभावित गर्ने मुटु भने नेहरु थिए । एक अर्थमा गान्धीलाई सफल बनाउन महादेव देसाईको योगदान सबभन्दा मुर्धन्य रहेको छ । महादेव देसाई स्थानीय समस्याहरुलाई विश्लेषण र व्याख्या गर्न नेहरुभन्दा पनि चतुर र चलाख थिए भने परराष्ट्र सम्बन्धी ज्ञानमा पटेलभन्दा बढी पनि जानकार थिए । भाषामा अधिक पकड र विचारलाई कार्ययोजनामा रुपान्तरण गर्ने महादेव देसाईको महारथलाई सबैले स्वीकार गरेका थिए । वर्तमान परिवेशमा उच्च नेतृत्व असफल हुनुका कारण सहायकको बुद्धिको दिवालियापन पनि एक हो । गान्धीका नाती राजामोहन गान्धीले आफ्ना पुस्तक “अ ट्रु स्टोरी अफ म्यान” मा गान्धीको चरित्रलाई आलोकित गर्ने प्रयास गरेका छन् । गान्धीको चरित्रको प्रमुख विशेषता नै जटिलतालाई सरलतामा परिमार्जित गर्नु थियो । अर्थात् गम्भीरभन्दा गम्भीर समस्यालाई सहज र सरल रुपमा व्याख्या गर्नु र समस्यालाई समाधान गर्नु तर्फ लक्षित गर्नु गान्धीको उद्देश्य रहन्थ्यो । राजामोहन गान्धीले गान्धीवादको बारेमा चर्चा गर्दै प्रष्ट के भनेका छन् कि गान्धीले कुनै पनि समस्यालाई समाधान गर्दा समाजको सबभन्दा बढी सीमान्तकृत, पीडित र प्रताडित वर्गहरुका अवस्थालाई ध्यानमा राखेर समाधान गर्न खोज्दथे । अर्को शब्दमा भन्ने हो भने गान्धीवादले अन्तोदयको सिद्धान्तलाई उच्च महत्व दिएको छ ।
कुनै पनि नीति–नियम र योजना बनाउँदा समाजको सबभन्दा पीडित व्यक्तिको अवस्था र समस्यालाई मध्यनजर गर्दै त्यो योजना पूर्ण रुपले सफल हुने कुरा गान्धीको आग्रह रहेको देखिन्छ । वर्तमान अवस्थामा गान्धी दर्शनमा अनवरत रुपले कलम चलाउने र व्याख्यानमा सहभागी हुने इतिहासकार डा. रामचन्द्र गुहाले गान्धीको सान्दर्भिकता र अपरिहार्यता दिन प्रतिदिन बढिरहेको कुरा उल्लेख गरेका छन् । युरोप र अमेरिकामा रुजवेल्ट, माओ र मार्क्समा धेरै कम छलफल र बहस हुने गर्दछ तर गान्धीप्रति रुची दिन प्रतिदिन बढिरहेको कुरा डा. गुहाले उल्लेख गरेका छन् । गान्धीले राजनीतिलाई सिद्धान्तसँग, धन उत्पादनलाई श्रमसँग, उद्देश्यलाई नैतिकतासँग जोडेका छन् । साध्य र साधनबीच तादात्म्यता गान्धी दर्शनको मुख्य आग्रह हो । मार्क्सवाद र गान्धीवादका बीचमा यो मुद्दामा भिन्नता पाइन्छ । मार्क्स साध्यलाई उच्च महत्व दिएका छन् तर गान्धीले साध्य र साधनलाई सँगै जोडेका छन् । फोहोर पानीले भाडा सफा गर्न सकिंदैन । अर्थात् हिंसात्मक तरिकाले प्राप्त गरेका उपलब्धि क्षणभंगुर र क्षणिक मात्र हुने गर्दछ । गान्धी दर्शनलाई पूर्ण रुपमा पालना गर्न नैतिक रुपमा अब्बल नै हुनुपर्दछ । यो सत्यतालाई स्वयम् गान्धीले नै स्वीकार गरेका छन् । नेपालको सन्दर्भमा गान्धी दर्शनलाई आंशिक रुपमा रुपान्तरण गरेको खण्डमा भ्रष्टाचारबाट रोगी भएको संरचनाले त्राण पाउन सक्दछ ।
नेपालको राजनीतिमा गान्धीवादको प्रयोग अधिक भएको देखिन्छ । बी.पी. कोइराला, गणेशमान सिंह, किसुनजी, मनमोहन अधिकारी, विष्णु बहादुर मानन्धरजस्ता अनेकौं नेताहरुमा गान्धी जीवनशैलीको गहिरो प्रभाव थियो । तुलसी मेहर श्रेष्ठ देखि डा. गोविन्द केसीसम्म गान्धी दर्शनको प्रयोग सामाजिक सुदृढिकरण र परिवर्तनको प्रयोग भई नै रहेको अवस्था छ । यस अर्थमा गान्धीको सान्दर्भिकता नेपालमा पनि बढिरहेको रहेको छ । विश्व अहिंसा दिवसको अवसरमा गान्धीजीलाई सत् सत् नमन !!