Logo

ताइवानको रक्षा क्षेत्रमा चीनले स्थापना दिवसकै दिन पठायो २५ सैन्य विमान



एजेन्सी, १६ असोज। जनवादी गणतन्त्र चीन स्थापना दिवसको अवसरमा चीनले २५ वटा सैन्य विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा पठाएको भन्दै ताइवानले आपत्ति जनाएको छ । चीनले शुक्रबार ताइवानको स्वशासित टापु नजिकै विमान पठाएर शक्ति प्रदर्शन गरेको भन्दै ताइवानले आपत्ति जनाएको हो। ताइवानको रक्षा मन्त्रालयले चीनले २२ लडाकु, दुई परमाणु बमवर्षक र एक पनडुब्बी विरोधी विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको जनाएको छ ।

चीनले भने यस क्षेत्रलाई आफ्नै क्षेत्र भएको दाबी गर्दै आएको छ । बेलायतले ताइवानमा दुई युद्धपोत पठाएको आरोप लगाएकै साता चीनले फेरि ताइवानमा २५ सैन्य विमान पठाएको हो । चीनले यसअघि पनि पटक-पटक ताइवानको रक्षा क्षेत्रमा युद्ध विमान पठाइसकेको थियो । गत साता ताइवानले ट्रान्स प्यासिफिक व्यापार सम्झौतामा समावेश हुन आवेदन दिएपछि चीनले आफ्ना २४ विमान ताइवानको क्षेत्रमा पठाएको थियो ।

चिनियाँ नेताहरुले ताइवानलाई एक दिन कब्जा गर्ने प्रतिक्रिया दिँदै आएका छन् । आवश्यक परेमा बलपूर्वक कब्जा गर्ने उनीहरुले बताउँदै आएका छन् । २०१६ मा ताइवानमा राष्ट्रपति निर्वाचनपछि चीनलाई दबाब बढ्न थालेको बताइन्छ । ताइवानका राष्ट्रपति साइ इङ वेनसहित नेताहरुले चीनबाट स्वतन्त्र भएको प्रतिक्रिया दिन थालेपछि चीनले यस क्षेत्रमा थप गतिविधि बढाउँदै आएको छ । ताइवानमाथि चिनियाँ गतिविधिलाई लिएर अमेरिकाले भने चीनको आलोचना गर्दै आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्