काठमाडौं, १६ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्व लिन आफू अगाडि बढिसकेकाले नरोकिने बताएका छन् । काठमाडौं महानगरपालिकाको अधिवेशन समुदघाटनमा बोल्दै सिंहले आफूलाई पार्टी नेतृत्वका लागि देशभरका कार्यकर्ताबाट आग्रह समेत भएको बताए ।
‘जनताले काँग्रेसलाई नयाँ नतृत्व लिएर आऊ भनेका छन्,’ सिंहले भने, ‘अब म नेतृत्वका लागि जनता र कार्यकर्ताको भावना अनुसार बढिसकें ।’
सिंहले काँग्रेस निकै संकटमा रहेको र त्यसबाट जोगाउन आफू जस्तोसुकै चुनौतीको सामना गर्न तयार भएको बताए । आफूले पार्टी पद्धति र सिद्धान्तका लागि जस्तोसुकै चुनौतीको सामना गरेको स्मरण गर्दै भने, ‘म जहिले पनि पार्टीका लागि लड्दै आएको छु र फेरि फेरि लड्छु ।’
विगतमा शाही आयोगको विरुद्ध बोल्ने आफू पहिलो नेता भएको समेत सिंहले बताए । आफ्ना पिता गणेशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने सन्देशसहित त्याग गरेको स्मरण गराउँदै भने, ‘राजनीतिक सेवाका लागि हो मेवा खान होइन ।’
गणेशमान सिंह र मङ्गलादेवी सिंहको छोरा भएकैले आफूलाई राजनीतिमा आउने नहुने जस्तो गरिएको भन्दै सिंहले दुःख, त्याग र तपस्या नभुल्न आग्रह गरे । उपत्यकाको भएकै आधारमा आफू यही सिमित जस्तो भनी कुप्रचार गरिएको बताउँदै सिहले प्रश्न गरे, ‘म पहिलो निर्वाचित महामन्त्री हुँदा उपत्यकाबाट मात्र निर्वाचित भएको हुँ ?’
आफूले कसैलाई क्षेत्र, समूह, जाति विशेषका आधारमा काखा र पाखा नगर्ने स्पष्ट पारे । आफ्ना पिताले पनि जहिले देशका लागि संघर्ष गरेको उल्लेख गर्दै शिर झुक्न नदिने बताए । उनले भने, ‘म वीपी, गणेशमान, सुवर्ण शमशेर किसुनजी जस्ता नेताहरुले देखाएको बाटोमा हिंड्छु ।’ आफूले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला जस्ता नेताहरुसँग पनि काम गरेको र उहाँहरुप्रति निकै सम्मान गर्ने बताए । उनले भने, ‘काँग्रेस यी नेताहरुको त्याग, तपस्या र मिहेनतबाट बढेको पार्टी हो । म त्यसको नेतृत्वका लागि सक्षम छु ।’
आफ्नो कुनै व्यक्तिगत चाहना नभएको स्पष्ट पार्दै भने, ‘अब काँग्रेसलाई बलियो बनाउने र देशलाई समृद्ध बनाई जनताको शिर ठाडो पार्ने मेरो अर्जुनदृष्टि छ ।’