Logo

प्रचण्ड शक्ति सञ्चयमा, पहिलो शक्ति बन्ने आक्रामक रणनीति



काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शक्ति सञ्चयमा लागेका छन् । उनले २०६५ को जस्तै शक्तिशाली अवस्थामा आफूलाई पुर्याउन सक्रियता बढाएका छन् । यही संकेतका साथ उनले जोखिम मोलेर बढेको सन्देश प्रवाह गरिसकेका छन् ।

प्रचण्डले प्रारम्भमा नेकपा माओवादी केन्द्रको व्यापक पुनः गठन सुरु गरेका छन् । पार्टीमा बढीभन्दा बढी युवाहरुलाई केन्द्रीय कमिटीमा समेट्ने प्रक्रिया बढाइसकेका छन् । माओवादीभित्र विश्वासपात्रहरुको पहिचान गरी जिम्मेवारी दिने तयारी समेत गरेका छन् ।

पूर्वमाओवादीलाई समेट्न पनि प्रचण्ड सक्रिय भइसकेका छन् । पूर्वमाओवादी नेताहरु मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव देखि डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समेतलाई समेटेर गठबन्धन बनाउने प्रयास थालेका छन् । सार्वजनिक रुपमा उनले यी नेता र समूहबीच गठबन्धन बन्ने बताइसकेका छन् ।

पूर्वमाओवादीलाई समेटेर पूर्वएमालेका माधवकुमार नेपाल पक्षधरलाई समेतको गठबन्धन बनाउने उनको प्रयास चलेको छ । माधव नेपालसँग प्रचण्डको कार्यगत एकता चलिरहेको छ । चुनावमा पनि यो गठबन्धन बनेर जान सक्ने बुझिएको छ । नेकपा एसका महासचिव डा. वेदुराम भुसालले अहिलेको सत्ता गठबन्धन नै चुनावसम्म मिलेर जाने बताए । प्रचण्डले किरण, विप्लव, बाबुराम, उपेन्द्र देखि मोहन विक्रम सिंहसम्मको नाम लिएर गठबन्धन बन्ने बताइसकेका छन् ।

प्रचण्डले चालेको रणनीति सफल भएमा यो शक्ति पहिलो हुने सम्भावना पनि रहन्छ । नेपाली काँग्रेससँग पनि घोषित या अघोषित गठबन्धन बनाउने प्रचण्डको रणनीति देखिन्छ । सत्ता गठबन्धन चुनावी गठबन्धन पनि बनाएर जाने पक्षमा छन् । तर, काँग्रेस त्यसमा सहमति हुने सम्भावना लगभग छैन ।

प्रचण्डले यसपटक निकै ठूलो महत्वकांक्षी रणनीति बनाइसकेको संकेतहरु अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ । जब जब चुनाव नजिक आउँछ प्रचण्ड कसै न कसैसँग गठबन्धन बनाइहाल्छन् । यो सिलसिला १० वर्षयता चलिरहेको छ । प्रचण्डले दोस्रो संविधान सभा निर्वाचनमा नराम्रो हार भोगेपछि स्थानीय चुनावमा काँग्रेससँग भित्री सहकार्य गरे । त्यसपछि २०७४ को चुनावमा नेकपा एमालेसँग गठबन्धन बनाए । उनले दुवै चुनावमा बढीभन्दा बढी ठाउँमा माओवादी उम्मेदवारलाई विजयी बनाए ।

प्रचण्डको यसपटक एमालेसँग मिलेर जाने सम्भावनाको ढोका बन्द भइसकेको छ । अब उनको ध्यान अन्य कम्युनिस्ट शक्ति र पूर्व कम्युनिस्टमा जान थालेको हो ।

माओवादी विगतमा एकढिक्का हुँदा सशस्त्र जनयुद्धबाट शक्ति आर्जन गरेको थियो । शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो संविधानसभा चुनावमा उल्लेख्य सफलता हासिल गरेको थियो ।

प्रचण्डमा यही अवस्था पुनरावृत्त गर्ने चाहना बढेको देखिन्छ । प्रचण्डले पछिल्लो समय आफूहरु बहुमत ल्याउने उद्देश्यका साथ लागेको बताएका छन् । उनको यो भनाई अर्थपूर्ण छ । प्रचण्डले विस्तारै विभिन्न कम्युनिस्ट घटकलाई एकढिक्का बनाउँदै जान खोजेका छन् । कतिपय शक्तिसँग सहकार्यको पहल थालेका छन् । यसबाट उनी महत्वाकांक्षी एकतामा सक्रिय भएको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्