काठमाडौं, १७ असोज । नेपाली काँग्रेसको ६४ जिल्लाको वडा र पालिका अधिवेशन हुँदासम्म को कति शक्तिशाली बन्यो भन्ने तस्बिर लगभग आइसकेको छ । अब प्रदेश क्षेत्र, संघीय निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनले तस्बिर अझ स्पष्ट पार्छ ।
काँग्रेसभित्र तल्लो इकाईको अधिवेशनमै शक्तिशाली नेताहरुनिकट समूहबीच गठबन्धन बन्दै गएको छ । यस क्रममा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच गठबन्धन देखिएको छ । काठमाडौंको वडा र पालिका तहको अधिवेशनमा देउवा र सिटौला एक ठाउँमा उभिए । यसबाट आगामी महाधिवेशनमा पनि देउवा र सिटौलाबीच गठबन्धनको सम्भावना बढेर गएको छ ।
सिटौलालाई गगन थापाले छाडेका छन् । उनी प्रकाशमान सिंहसँग नजिकिएका छन् । काठमाडौंको अधिवेशनमा सिंह र थापा समूहबीच गठबन्धन देखिएको छ । थापाले सिंहलाई साथ दिदा शक्ति ह्वात्तै बढेको छ । त्यसकारण पनि प्रकाशमान सिंहले अब काँग्रेसको नेतृत्व लिन आफू बढेको र पछाडि नहट्ने बताएका छन् ।
थापाले सिटौलाको साथ छाडेपछि सांसदमध्ये भीमसेनदास प्रधान र उमाकान्त चौधरी मात्र साथमा छन् । काभ्रे जिल्ला सभापति मधु आचार्य पनि सिटौलाको साथमा छन् । तर, प्रधान र चौधरी पहिल्यै देउवासँग नजिक भइसकेका नेताहरु हुन् । यसरी काँग्रेसको राजनीतिमा सिटौला कमजोर हुँदै देउवासँग विलय हुने अवस्थामा छन् ।
सिटौला सभापतिको उम्मेदवार बन्ने सम्भावना कमजोर भइसकेको छ । तर, उनले आफूलाई अन्तिम समयसम्म साथ दिने प्रदीप पौडेललाई भने बलियो बनाउने सम्भावना बढेको छ । पौडेलले देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार बन्न पाउने सम्भावना बलियो हुँदै गएको छ । काँग्रेसको युवाविद्यार्थी पंक्तिमा पौडेलको बलियो प्रभाव छ । सिटौलाको देउवासँगको सम्भावित गठबन्धनले पौडेललाई राजनीतिक छलाङ मार्ने माहोल तयार गर्दैछ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षबाटै साथ पाउने सम्भावना लगभग टर्दै गएको छ । प्रकाशमान सिंह पछि नहट्ने भएका छन् । कोइराला परिवारबाट महामन्त्री सशांक कोइराला, सुजाता कोइराला र शेखर कोइराला तीनैजना सभापतिको दाबेदार छन् । तीनमध्येबाट एकजना उम्मेदवार बन्ने सम्भावना बलियो छ । सबैले पौडेललाई साझा उम्मेदवार मान्ने सम्भावना लगभग कमजोर छ । १३औं महाधिवेशनमा पौडेललाई साथ दिएकाहरु आफै उम्मेदवारी घोषणा गर्नु, कतिपयले साथ छाड्नुले पनि माहोल बदलिएको छ ।
देउवाको साथ छाडेका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । निधिले पनि उम्मेदवारी दिए काँग्रेसको राजनीतिक रोचक मोडमा पुग्नसक्छ । त्यतिबेला पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत हासिल गर्न नसकी दोस्रो चरणको मतदान हुने सम्भावना छ ।
काँग्रेसमा अर्को शक्ति विजयकुमार गच्छेदार पनि हुन् । उनले कसैको पक्षमा खुलेर बोलेका छैनन् । गच्छेदार अबको चुनावमा निर्णायक शक्ति बन्ने सम्भावना बलियो बनेर गएको छ ।