Logo

गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री देउवाको आश्वासन : ओलीसँग मिल्ने कुरै छैन !



काठमाडौं, १७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेको गठबन्धनलाई कुनैपनि हालतमा धोका नदिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । सत्तापक्षीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष ओलीबीच फेरि सहकार्य हुन लागेको हो ? भन्ने विषयमा नेताहरुले प्रश्न उठाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार ‘अर्ली ईलेक्शन’ गर्न प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच सम्वाद भएको विषयमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री देउवालाई प्रश्न सोधेका थिए । देउवाले त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका थिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती नेताले भने–‘यो नचाहिने कुरा हो । अहिले ओलीसँग सहकार्यको कुनै सम्भावना छैन् । यो गठबन्धनलाई नै चुनावसम्म लैजाने हो । यहाँ संविधान जोगाउने कुरा ठूलो हो ।’

पछिल्लो समय एमाले नेताहरुले मुलुक अब अर्ली ईलेक्शनमा जाने दाबी गरिरहेका छन् । यही बीचमा प्रधानमन्त्री देउवाले आफ्नो दूतका रुपमा कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ओलीसँग भेट्न पठाईरहेका छन् । मन्त्री कार्कीसँगको भेटमा पनि ओलीले यो संसद्बाट निकास नआउने भन्दै जतिसक्दो चाँडो मुलुकलाई निर्वाचनमा लैजानुपर्ने कुरा गरेको सुनिएको छ ।

तर, मन्त्री कार्कीले भने यसबारेमा कुनै छलफल नै नभएको बताउँदै आएका छन् । गठबन्धनका नेताहरुले नै प्रधानमन्त्री देउवा र ओलीबीच सहकार्यको आशंका गरेपछि देउवाले बैठकमा त्यस्तो कुनै सम्भावना नभएको र त्यो हल्लामात्रै भएको जवाफ दिएका छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot