काठमाडौं, १८ असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं उपत्यकाभित्र मजबुत देखिएका छन् । उपत्यकाका तीनवटै जिल्लामा उनी पक्षधरहरु मजबुत देखिएका हुन् ।
काठमडौं महानगरपालिकालगायत अधिकांश नगरहरुमा सिंह पक्षधर उम्मेदवारहरु अत्याधिक बहुमतले विजयी भएका छन् । सिंहविरुद्ध सभापति देउवालगायत हस्ती नेताहरु एकजुट हुँदा पनि उपत्यकाका अधिकांश पालिकाहरुमा उनी पक्षधरले सानदार विजय हासिल गरे ।
देशभरका पालिकामध्ये सबैभन्दा बढी वडा तहका प्रतिनिधि आएको काठमाडौं महानगरपालिकामा सिंह पक्षधर निलकाजी शाक्यले प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितलाई दोब्बरभन्दा बढी मतले पराजित गरे । शाक्यले ७८६ मत पाउँदा रञ्जितले ३२९ मत पाए । शाक्यको प्यानल नै विजयी भयो ।
काठमाडौंका अधिकांश पालिकामा सिंह पक्षधर विजयी भए । पराजित पालिकामा पनि झीनो मतान्तरले मात्र पराजित भए ।
ललितपुर र भक्तपुरमा पनि प्रकाशमान सिंह पक्षधर मजबुत देखिएका छन् । वडा तहबाटै उनीहरु बढी संख्यामा प्रतिनिधि चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला सभापतिको निर्वाचनमा समेत यसको असर देखिने भएको छ ।
काठमाडौं महानगरपालिकामा सिंह पक्षधर शाक्यको विजयले काँग्रेसको राजनीतिमा अर्थपूर्ण सन्देश गएको छ । सभापतिको उम्मेदवारी घोषणा गरिसकेका प्रकाशमान सिंहको प्रभाव बढ्ने संकेतका रुपमा यसलाई लिइएको छ ।