म्याग्दी, १८ असोज: संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने हिमालमा यही असोज १५ गते बिहान ६ः०० बजे गोरखाकी पूर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङलामु शेर्पाले सफल आरोहण गरेकी थिइन् ।
हिमाल आरोहण गरेर हेलिकप्टरमार्फत काठमाडौँ जाने क्रममा बेनी आएकी पूर्णीमालाई म्याग्दी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र धौलागिरि पर्यटन परिषद्का तर्फबाट सम्मान गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्य, पत्रकार महासङ्घका शाखा सचिव सन्तोष गौतम, प्रदेश परिषद् सदस्य विक्रम बोगटी र धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले पूर्णीमा र पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली पाइलट बेनीका सोवित गौचनलाई सम्मान गरेका थिए ।
दुवै जनाले हिमाल आरोहणमा कीर्तिमान बनाएर म्याग्दीको पहिचान दिलाउन योगदान गरेकाले सम्मान गरिएको अध्यक्ष बानियाँले बताए । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर जानुभएकी पूर्णीमा १७औँ दिनमा आज काठमाडौँ फर्किएका छन् ।
पूर्णिमा र पासाङले धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएका सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले बताईन् । धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेका थिएनन् ।
पत्रकार गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । टासी शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत फोटो पत्रकार हुनुहुन्छ ।
उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् । प्रतिकूल मौसमका बाबजुद पनि धवलागिरि आरोहण सफल भएकामा खुसी व्यक्त गर्दै पूर्णिमाले अब नेपालमा रहेका आठ हजार मिटर भन्दा बढी उचाइ भएका सबै हिमाल आरोहण गर्ने योजना सुनाईन् ।
यसैगरी २०७८ वैशाख २८ गते संसारको अग्लो सगरमाथा हिमालको सफल आरोहण गरेका बेनी निवासी पाइलट सोबित गौचनलाई आइतबार थकाली सेवा समिति बेनी क्षेत्रले सम्मान गरेको छ । हेली एभरेष्टका पाइलट गौचन सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलट छन् ।
थकाली सेवा समिति नेपालले आयोजना गरेको ११औ तोरन्ल्ह गोल्डकप प्रतियोगिताको समापन समारोहमा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, समितिका पूर्व अध्यक्ष कृष्णकुमारी शेरचन र बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले सम्मानपत्र प्रदान गरेका थिए ।-रासस