काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को यही असोज १५ देखि असोज १७ गतेसम्म चलेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । ६ हजारभन्दा बढि प्रतिनिधिहरु सहभागी भएको उक्त विधान महाधिवशेनको तामझामको निकै चर्चा भएको थियो ।
प्रतिनिधिहरुलाई खाजादेखि खानासम्मको राम्रो प्रवन्ध गरिएको थियो । सनराईज हललाई चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनको झल्को दिईएको थियो । कतिपयले अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनफिङको नक्कल गरेको पनि भनेका छन् ।
एमालेको यो विधान महाधिवशेनलाई कतियले कुम्भमेलाको पनि संज्ञा दिएका छन् । तर, एमालेको नेतृत्वले भने पार्टीका महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुँदा पार्टीका नीति, सिद्धान्त र विचारमा पर्याप्त छलफल हुन नपाएको भन्दै प्रथम विधान अधिवेशन आयोजना गरेको बताएका छन् ।
ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्र्रिय सम्मेलन केन्द्रमा भइरहेको महाधिवेशनका दृश्य र चहलपहल हेर्दा पन्ध्र करोड भन्दा बढिको खर्च भएको चर्चा भैरहेको छ ।
तर, एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने उक्त विधान महाधिवेशनमा ५ करोडको हाराहारीमा खर्च भएको बताए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । तामाङले उक्त खर्च पनि पार्टीकै लेबीबाट उठाईएको बताए ।उनले आफुहरुले विधान महाधिवेशनको लागि उद्योगी÷व्यवसायीहरुसँग एक रुपैयाँ पनि नलिएको दाबी गरे ।
उक्त अधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो । file photo/ReportersNepal