काठमाडौं, १८ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । जिल्ला अधिवेशन अन्तर्गत जिल्ला सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । हिजो (आइतवार) सम्पन्न मतदानमार्फत उनी निर्वाचित भएका हुन् । तामाङले उक्त निर्वाचनमा तीन करोडभन्दा बढि रकम खर्चिएको आरोपसमेत लागेको छ ।
तामाङले लवश्री न्यौपाने र कृष्णबहादुर महतालाई पराजित गरेका हुन् । पहिलो चरणको निर्वाचनमा तीनै जना उम्मेद्धवारमधये कसैले पनि ५० प्रतिशत कटाउन सकेका थिएनन । तामाङले भने ५० प्रतिशत कटाउन थोरै मात्र मत पुर्याउन सकेका थिएनन । त्यसपछि पुनः निर्वाचन हुने तयारी गरिएको थियो । तर, तामाङले तीन करोडभन्दा बढि रकमको लेनदेन गरेर सहमति निर्माण गरेको र सभापतिमा बाजी मारेको भनेर अहिले चर्चा चलेको छ । कान्छारामले ६ सय ६८ मत प्राप्त गरेका थिए । लवश्री न्यौपानेले ३५६ मत, अर्का प्रत्याशी कृष्णबहादुर महतले ३२८ मत पाएका थिए ।
सभापतिका उम्मेदवारद्धय न्यौपाने र कान्छारामबीच सहमति जुटेसँगै कान्छाराम पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित भएका छन् । हिजो सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो । सभापतिमा निर्वाचित तामाङ समाजसेवी एवम निर्माण व्यवसायी हुन् । आफू सभापति बनेपछि उनले जिल्लामा काँग्रेसलाई सबैभन्दा ठूलो दल बनाउने पनि घोषणा गरेका छन् । Photo Source: Social Media