Logo

मन्त्रालय बाँडफाँडमा विवाद रहेपछि मन्त्रिपरिषद विस्तारमा अझै अन्यौल



काठमाडौं, १९ असोज । आजै सहमति गरेर मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनका नेताहरुको प्रयास सफल हुन सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका ४ शिर्ष नेताहरुले एक घन्टा छलफल गरेपनि मन्त्रालय र मन्त्रीको टुंगो लाग्न बाँकी रहेको बुझिएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । तर, नेताहरुले मन्त्रालय बाँडफाँडको टुंगो लगाउन सकेनन् ।

नेपाल र यादवले आकर्षक मन्त्रालय मागेपछि संख्या घटाउने विषय पनि उठ्न थालेको छ । मन्त्रालयको टुंगो नलाग्दा मन्त्रीको नाम दिन सकेका छैनन् ।

नेकपा एसले पर्यटन, शिक्षा, सञ्चार, उद्दोग, भौतिक वा शहरी विकासमध्ये एक मन्त्रालय मागेको छ । जसपाले स्वास्थ्य, भौतिक वा शहरी विकासमध्ये एकलगायत आकर्षक मन्त्रालय मागिरहेको छ ।

नेकपा एस र जसपाले आकर्षक मन्त्रालय मागेपछि प्रतिनिधि सभामा उनीहरुको सांसद संख्याका आधारमा मन्त्रालय भागवण्डा गर्नेबारे पनि सवाल उठ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्