नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले अब मुलुकलाई निर्वाचनमा लैजानुको विकल्प नभएको बताएका छन् । तर, अर्ली–इलेक्सनमा जान प्रधानमन्त्री शेरबहादुर तयार हुनुहुदैन नि ? भनेर पत्रकार ऋषि धमलाले राखेको प्रश्नमा उनले भने,‘सरकारको काम हो चुनाव गराउने । सरकारले निर्वाचन आयोगलाई निर्णय दिनपर्यो । सबै सामान जुटाइदिनुपर्यो । अनि चुनाव हुन्छ । अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले के काम गर्छ ? कालो धनलाई स्रोत नै खुलाउनपर्दैन भन्ने सरकारले यो मुलुकमा दलाल पुजीँवादको प्रयोग गराउनबाहेक के काम गरेको छ ? सबै कामहरु ठप्प छन् । यो सरकार मुलुकलाई यस्तै अवस्थामा ल्याउनको लागि बनाइएको हो । देश बनाउनको लागि बनेको हो र यो सरकार ?’ प्रस्तुत नेता गुरुङसँग नेपाली बहसका लागि पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
नेकपा (एमाले) को विधान महाधिवेशन सकिएपछि अब पार्टीको विवाद मिलेको हो ?
वैचारिक रूपमा कुनै समस्या छैन् ।
दश बुँदे कार्यान्वयन भएको छैन्, भीम रावल त रुष्ट हुनुहुन्छ ?
दश बुँदे कार्यान्वयन भैसकेको छ ।
सुदुरपश्चिममा अझै दश बुँदे पूर्ण रुपमा कार्यान्वयन भएको छैन नि ?
कार्यदल बनेको छ । अब चाँडै हुन्छ । हाम्रो महाधिवेशनमा त्यहाँबाट प्रतिनिधिहरु आइसके ।
त्यसोभए अब नेकपा (एमाले) एक भएको हो ?
हजुर, हो ।
माधवकुमार नेपालहरु बाहिरिएपछि नेकपा (एमाले) लाई घाटा भयो, होईन ?
होइन्, माधव नेपालज्यूहरु बाहिरिएपछि घाटा भयो भन्ने जनतालाई परेको छ । पार्टी टुक्रीएको छ भन्ने परेको छ । तर, पार्टी चोइटिएको हो । त्यसैले कत्तिपनि घाटा भएन भनियो भने तपाईंहरुले पत्याउनु हुँदैन होला । १–२ प्रतिशत भएको होला ।
झलनाथ खनाल, माधवकुमार नेपालजस्तो नेताले पार्टी फुटाएर नयाँ पार्टी गठन गरेर देशभर संगठन गर्दा घाटा हुँदैन त ?
झलनाथजी झलनाथ खनाल भएको एमालेमा बसेर हो । माधवजी माधवकुमार नेपाल भएको पनि एमालेमा बसेर हो । त्यो आन्दोलनको नेतृत्व गरेर हो । त्यो आन्दोलनबाट प्रधानमन्त्री भएको हो । अब त्यो सबै पुरानो गौरवगाथा सबै बिर्सिएर उहाँले गलत बाटो समात्नुभयो । उहाँको शक्ति सामथ्र्य सबै कुरा समाप्त भयो ।
बामदेव गौतमले पनि नेकपा (एमाले) छोडिसक्नुभयो, यसले तपाईंहरुलाई समस्या भएन ?
त्यसको त झनै केही समस्या छैन् । किनभने पार्टीभित्र यत्रो विकराल समस्या ल्याउने पहिलो व्यक्ति उहाँनै हो । उहाँले जुन खालको नकारात्मक खलनायकको भुमिका निर्वाह गर्नुभएको छ । त्यसको परीणामले आज हामी यो ठाउँमा आइपुगेका छौं । त्यसकारणले गर्दा हाम्रो पार्टी र जनतामा उहाँको प्रभाव सबै समाप्त भएर गइसकेको स्थिति थियो । अहिले उहाँले पार्टी नछोड्नु भएको भए धेरै राम्रो हुन्थ्यो । अन्तिमसम्म धेरै प्रयत्न गरिएकै हो । तर, अब भीरबाट खसिसकेपछि रामराम भन्नबाहेक अरु केही गर्न नसकिने भएको छ ।
तर, हिजोको दिनमा परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेलेका नेताले पार्टी छोड्दा घाटा हुँदैन् ?
हिजो लाग्नुभएको थियो । तर, आज लाग्नुभएन के गरम त हामीले । आज उहाँ प्रतिगमनको लागि लाग्नुभयो, प्रतिक्रान्तिको लागि लाग्नुभयो । कम्युनिष्ट पार्टीको बिरुद्धमा लाग्नुभयो ।
नेकपा (एमाले) फुटाउने योजनाकार बामदेव गौतम हो भन्न खोज्नुभएको हो ?
मैले अब धेरै कुरा भन्दिनँ । तर, सुरुमा हाम्रो पार्टीमा झगडा भएको चाँही सचिवालयबाट हो । सचिवालयमा उहाँ आफ्नो पोजिसन छोडेर दायाँबायाँ लागेपछि त्यहाँ समस्या उत्पन्न भएको थियो । त्यसलाई अरु नेताहरुले आफ्नो स्वार्थमा प्रयोग गरे ।
तर, केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष उहाँलेनै बनाउनु भएको हो नि ?
हो, उहाँले त्यतिबेला चाहीँ सकारात्मक भूमिका खेल्नुभएको थियो । त्यहीभएर हामीले उहाँलाई नेता मानेका हौं । अब त्यो भूमिकाबाट उहाँ अलग हुनुभयो । तर, अहिलेको अवस्थामा चाहीँ उहाँ हाम्रो नेता हुनभएन ।
केपी शर्मा ओलीलाई तपाईंहरुले किन देवत्वकरण गर्नुभयो ?
देवत्वकरण गरेको होइन् । उहाँको भीजन र अठोटलाई नेपाली समाजको समृद्धिको लागि, नेपाल राष्ट्रको स्वाधिनता, सिंगो कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिककरण र नेपालको संविधान रक्षा र कार्यान्वयनको लागि हामी उहाँको वरिपरि गोलबद्ध भएका हौं । उहाँलाई हामीले नेतृत्व गर्ने ठाँउमा पुर्याएका हौं ।
तपाईंहरुले केपी शर्मा ओलीलाई फेरी पनि नेकपा (एमाले)को अध्यक्ष र निर्वाचन पछि प्रधानमन्त्री बनाउने भन्दै हुनुहुन्छ, यो आजको आवश्यकता हो ?
एउटा व्यक्ति १५ वर्ष महासचिव हुँदा त अघाँउदो रहेनछ । अर्को पार्टी खोलेर अध्यक्ष बन्न जानुभयो । अर्को व्यक्ति १२ वर्षसम्म अध्यक्ष भएर पनि फेरी अध्यक्ष बन्न जानुभयो । त्यसैले उहाँले पहिलोपटक आफ्नो कार्यकालको ५ वर्ष शासन गर्नुभएको हो । दोस्रो कार्यकाल नेतृत्व गर्छु भन्नु कुन अनौंठो कुरा भयो र ? यो त बैधानिक व्यवस्था नै हो ।
तर, केपी शर्मा ओली अध्यक्ष भएको पनि त सात आठ वर्ष भयो नि, होइन ?
तर, को कुरै छैन् नि । बीचको समयलाई हामीले शून्य अवधि मानेका छौं । त्यसैले उहाँ अर्को एक कार्यकाल अध्यक्ष बन्न सक्नुहुनेछ ।
केपी शर्मा ओलीलाई उमेरको हदवन्दी लाग्दैन् ?
उमेरको हदबन्दी लाग्छ नि, कसले लाग्दैन् भनेको छ र ? केपी शर्मा ओली भर्खर ६८ वर्षमा हुनुहुन्छ । उहाँ त चुनावमा उठ्न पाइहाल्नु हुन्छ नि । केपी शर्मा ओलीलाई मात्र किन यसरी खेदिरहेको ? अहिलेको अवस्थामा उहाँलाई जित्न सक्ने नेता नेपालको कुनै पनि पार्टीमा छैन् । उहाँ नेपाली जनताको नेता हो ।
केपी शर्मा ओलीलाई तपाईहरुले भगवानको रुपमा हेर्नुहुन्छ, होईन ?
भगवान कसले भनेको छ ? नेकपा (एमाले) भगवानप्रति विश्वास गर्दैन् । हामीले उहाँलाई त्यसो गरेकै छैनौं । हामीले उहाँको कामलाई समर्थन गरेको हो । उहाँको इमानदारितालाई समर्थन गरेको हो । हामीले उहाँको सक्रियतालाई समर्थन गरेको हो ।
नेपालको संविधान र लोकतन्त्रमाथि आक्रमण गरेर दुई पटक संसद विघटन गर्ने नेता हो नि केपी शर्मा ओली ?
होइन, त्यस्तो कुरा के गर्नुहुन्छ तपाईं ? १७ हजार मान्छे मारेको भन्ने आरोप लागेका मान्छे पनि यहीँ छन् । काम गर्दै जाँदा घेराबन्धीमा परेपछि, काम त गरिहाल्छ । यसरी राजनीतिमा गरेको कुराका आधारमा किन समर्थन गरेको भन्न मिल्दैन् ।
झलनाथ खनालले केपी शर्मा ओली भनेको हिटलर हो, तानाशाह हो भन्नुभएको छ ?
झलनाथ खनालले भन्नुको कुनै औचित्य छैन् । उहाँ त पार्टी छोडेर, आन्दोलन छोडेर जानुभयो । आफुले बनाएको पार्टी किन छोड्नु भयो उहाँले ? आकांक्षा पूरा भएन भनेर होइन ? अब केपी ओलीलाई यहाँ बसेर जित्न सकिँदैन् भनेर उहाँले छोड्नुभएको हो । त्योभन्दा अरु कुनै कारण छ ?
त्यसोभए केपी शर्मा ओली नेकपा (एमाले)को निर्विकल्प नेता हो ?
अहिलेको अवस्थामा हो । अर्को पटकबाट उहाँ आउट हुनुहुन्छ । हामी मध्यबाट कोही चुनिनेछौं ।
मुलुक हाक्ने नयाँ युवा पुस्ताको नेता देशलाई चाहिएको छैन् ?
नयाँको नाममा उहाँभन्दा कमजोर आयो भने के अर्थ होला र ? उहाँजत्ति पनि क्षमता र विचार नभएको मान्छे आयो भने के अर्थ हुन्छ ? त्यसले मुलुकलाई केही पनि फाइदा हुँदैन ।
प्रदेश नम्बर एक र बाग्मती प्रदेशमा नेकपा (एमाले) को सरकार ढल्दैछ अरे, होइन् ?
मैले भन्दा राम्रो हुँदैन् । तरपनि गण्डकी प्रदेशको योजना, भीजन, नीति, सुशासन रनणीतिक योजनाका हिसाबले सबैभन्दा व्यवस्थित् भएर चलेको सरकार हो । जनतालाई एउटा सन्देश दिन सफल सरकार हो । यो ३ वर्षको अवधिमा सबैभन्दा राम्रो काम गरेको सरकार भनेकै गण्डकी थियो । जसरी केन्द्रमा केपी शर्मा ओलीको डाहा छ मान्छेको, त्यसरी नै गण्डकी प्रदेशमा कसरी सरकार गिराउने भनेर लागे मान्छेहरु । अहिले उहाँहरुले कस्तो सरकार बनाउनुभयो ? अहिलेको त्यहाँको सरकार नालायक सरकार हो । हामीले योजनाबद्ध रूपमा अघि सारेका सडक र पुललगायतका थुप्रै आयोजनाहरु काटेर कार्यकर्तालाई पैसा बाँड्नु भएको छ । यसरी मुलुकमा समाजवाद आउछ ?
त्यसोभए गण्डकी प्रदेशका मुख्यमन्त्री असफल हुनुभयो ?
होइन्, मैले व्यक्तिगत रुपमा किन भनौं ? अहिलेको अवस्थामा त्यहाँको सरकार पूर्ण रुपमा असफल हो । गण्डकी प्रदेशमात्र होइन, अहिलेको अवस्थामा आम रुपमा हेर्दा प्रदेश सरकारहरुले संघीयता कार्यान्वयन गर्न र यसको औचित्य पुष्टि गर्नको लागि योगदान गर्न पर्दैन ? अहिलेका नयाँ सरकारहरुको कुनै योगदान छ ? खाली आफ्ना कार्यकर्तालाई कसरी पोस्ने भन्नेतिर मात्र लाग्ने होइन् । यी सरकारहरु फेरी भ्रष्टाचारको दलदलमा फसिसकेका छन् ।
तपाईको विचारमा अब देश निर्वाचनमा जानुपर्छ भन्ने हो ?
हो, अब देश निर्वाचनमा जानुपर्छ ।
तर, अर्ली–इलेक्सनमा जान प्रधानमन्त्री शेरबहादुर तयार हुनुहुदैन ?
सरकारको काम हो चुनाव गराउने । सरकारले निर्वाचन आयोगलाई निर्णय दिनपर्यो । सबै सामान जुटाइदिनुपर्यो । अनि चुनाव हुन्छ । अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले के काम गर्छ ? कालो धनलाई स्रोत नै खुलाउनपर्दैन भन्ने सरकारले यो मुलुकमा दलाल पुजीँवादको प्रयोग गराउनबाहेक के काम गरेको छ ? सबै कामहरु ठप्प छन् । यो सरकार मुलुकलाई यस्तै अवस्थामा ल्याउनको लागि बनाइएको हो । देश बनाउनको लागि बनेको हो र यो सरकार ?