Logo

सिटौलाले भने–म सभापतिमा लड्छु, ब्याक हुने कुरै छैन



काठमाडौं, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आसन्न १४औं महाधिवशेनमा आफू सभापतिमा उठ्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा सिटौलाले आफू सभापतिको उम्मेद्धवार भएकोले र सम्पूर्ण तयारी गरिसकेकोले अब ब्याक हुने स्म्भावना नभएको स्पष्ट पारे ।

उनले भने,‘म सभापतिमा उठ्छु, ब्याक हुने कुरै छैन् ।’ देशभरिका नेता÷कार्यकर्ताले आफूलाई सभापतिमा उठ्नको लागि भनेकोले तयारी गरिसकेको पनि उनको भनाई छ । यसअघि सिटौलाले यसपटक सभापतिमा शेरबहादुर देउवालाई सघाउने चर्चा थियो ।

सिटौलाले आफ्नो गुटलाई समेत बचाउन नसकेको भनेर आलोचना भैरहेको थियो । युवा नेता गगनकुमार थापा सिटौला क्याम्प छोडेर रामचन्द्र पौडेल पक्षमा गएका छन् । तर, सिटौला भने यसमा सत्यता नभएको बताउँछन् । सिटौलाले आफ्नो समूह एक ढिक्का भएको र कसैले पनि नछोडेको दाबी गरेका छन् ।

यसपटक सभापतिमा धेरै जनाले उम्मेद्धवारी दिने बुझिएको छ । वर्तमान सभापति देउवाले दोहोरिने बताईसकेका छन् । उता, देउवासँग लामो समयदेखि निकट रहेका नेता विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेद्धवारी घोषणा गरिसकेका छन् ।

उनले नयाँ बानेश्वर थापागाउँमा सम्पर्क कार्यालय नै खोलेर प्रचारप्रसारलाई तिव्रता दिएका छन् । यसपटक कोइराला परिवारले भने सहमतिमै एक जना सभापतिमा उठ्ने बताईसकेको छ । प्रकाशमान सिंहले पनि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्