काठमाडौं, असोज २१ । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले संसद् पुनःस्थापना र संविधान रक्षाका लागि आफ्नो पार्टीले गरेको भूमिकाको नजरअन्दाज भएको आशंका गरेका छन् ।
आज बिहान रेडियो नेपाली नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चौधरीले भने, “हुन त हामी मन्त्री बन्नका लागि लडेका होइनौं, सरकार मेजर कुरा पनि होइन । तर हाम्रो भूमिकाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ध्यान नपुर्याएको देखिन्छ, उहाँहरुको पनि आफ्नै बाध्यता होलान् ।”
यसको बाबजुद पनि गठबन्धन र संसद्लाई पूर्णकाल टिकाउनका लागि सरकारमा सहभागी हुने उनले बताए । चौधरीले भने, “आफ्ना महत्त्वपूर्ण मन्त्रालय राख्ने, बचे खुचेका र कमजोर मन्त्रालय जिम्मा लगाउने कुरा गठबन्धनको स्पिरिटसँग तालमेल खाँदैन ।” चौधरीले रक्षा मन्त्रालयको एकीकृत समाजवादी पार्टीले पाउने निश्चित नभएको बताए । कानुन मन्त्रालय पाएपछि रक्षा कांग्रेस लिने सुनेको उनको भनाइ थियो ।
आज बिहान १०–११ बजेतिर अन्तिम नाम र मन्त्रालय फाइनल भएपछि दिउँसो तीन–चार बजेसम्म सपथ ग्रहण हुने उनले जानकारी दिए । उनले थपे, “आज नाम र मन्त्रालय फाइनल हुन्छ । हाम्रो पार्टीभित्र विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, म लगायतको चर्चा छ । को हुन्छ, यकिन छैन । बाटोमै नाम काटिन पनि सक्छ । अहिले नै के भन्न सकिन्छ र !”
उनले आफ्नो चासो भूमिसुधार र पर्यटन मन्त्रालय भए पनि यो वा त्यो रोज्ने अवस्था नभएको बताए । उनले थपे, “मेरो चासो भूमिसुधार मन्त्रालयमा हो । यसबारे म जानकारी पनि राख्छु । तर त्यो हाम्रो भागमा परेन । दोस्रो, पर्यटन मत्रालय पायो भने नेतृत्व गर्न सक्छु भन्ने लाग्छ । तर अहिले यो वा त्यो भन्ने छैन । पार्टी अध्यक्ष माधवकुमार नेपालले योग्यता र क्षमताअनुसार जिम्मेवारी दिने विश्वास छ । हामीले चासो राख्ने हो, तर हाम्रो चासोले मात्र काम गर्दैन ।”