काठमाडौं, २२ असोज । नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइराला त्यस्ता प्रधानमन्त्री हुन् जसले पहिलोपटक क्याबिनेटमा महिलालाई मन्त्री बनाए । उनको मन्त्रिमण्डलकी सदस्य द्वारिकादेवी ठकुरानी नेपालको पहिलो महिलो मन्त्री हुन् । तर, वीपीले स्थापना गरेको दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यसपटक प्रधानमन्त्री हुँदा आफ्नो दलबाट कुनैपनि महिलालाई मन्त्री बनाएका छैनन् ।
देउवाले पटक पटक गरी तीन पटक मन्त्रिमण्डलमा नयाँ मन्त्री थपिसकेका छन् । आफू प्रधानमन्त्री बनेलगत्तै बालकृष्ण खाँडलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री बनाए । त्यसपछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए । तेस्रो पटक मन्त्री थप्दा डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाए । तीन पटक मन्त्री बनाउँदा पनि महिलालाई समेटेनन् ।
अब देउवाले काँग्रेसबाट पाँच मन्त्री थप्दैछन् । थपिनेहरुमा २ या ३ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट छन् । बाँकी एकजना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट छन् । सिटौला पक्षबाट पुरुष नै मन्त्री बन्दैछन् । उमाकान्त चौधरीको नाम टुंगो लागिसकेको छ ।
पौडेल पक्षबाट पुरुषहरुकै दाबी बढी छ । महिलामध्येबाट सुजाता कोइरालाको सम्भावना छ । तर, कोइरालालाई रोक्ने प्रयासहरु भइरहेको बुझिएको छ ।
देउवाले आफ्नो पक्षबाट पुष्पा भुसाललाई मन्त्री बनाउने सम्भावना छ । सुजाता र पुष्पा दुवै मन्त्री बनेमा पनि माओवादी बराबर पनि पुग्दैन । माओवादीले सरकारमा तीनजना महिलालाई स्थान सुनिश्चित गरिसकेको छ । पम्फा भुसाल मन्त्री भइसकेकी छिन् । शशि श्रेष्ठ र बोधमाया कुमारी यादवको नाम टुंगो लागिसकेको छ ।
जसपाबाट पनि महिलालाई मन्त्री बनाइने निश्चित भएको छ । कम्तिमा २ जना महिला मन्त्री बन्ने गरी सूची तयार पारिएको बुझिएको छ ।