Logo

डाक्टर सुरेन्द्र यादवले ‘अपहरण एम्बुस’ को पुरस्कार पाउनसक्ने



काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले ‘अपहरण एम्बुस’ थाप्न सकेका थिए । उनले डेढ वर्ष अघि नेकपा एमालेका सांसद महेश बस्नेत, हाल नेकपा एसमा रहेका किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एम्बुसमा पारेका थिए ।

तत्कालीन समाजवादी पार्टी विभाजनको योजना साथ सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं साथमा ल्याएका तीनजनामाथि यादवले अपहरणको जाहेरी दर्ता समेत गरेका थिए । यो घटना निकै चर्चामा पुगेको थियो ।

समाजवादी पार्टी फुट्नबाट जोगियो । तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर विभाजनबाट जोगिएको पार्टी अहिले फुटिसकेको छ । सुरेन्द्र यादव उपेन्द्र यादवकै साथमा रहे । उनको डा. बाबुराम भट्टराईसँग पनि नजिकको सम्बन्ध छ । त्यसकारण पनि उनी यसपटक मन्त्री बन्ने सम्भावना बलियो छ ।

यादवलाई ‘अपहरण एम्बुस’ का कारण पुरस्कृत गर्न उपेन्द्र यादव र बाबुराम भट्टराई दुवैजना सहमत भएको बुझिएको छ । उनले चतुरताका साथ भूमिका ननिभाएको भए समाजवादी पार्टी त्यतिबेला नै फुट्थ्यो । उपेन्द्र यादव अहिलेको जस्तो १९ सिटको सांसद पनि हुँदैनथिए । बाबुराम भट्टराईको हालत पनि कमजोर हुन्थ्यो । सुरेन्द्र यादवले खेलेको भूमिकाका कारण उपेन्द्र र बाबुराम दुवैलाई अहिलेको शक्ति मिलेको छ ।

यसैगरी, सुरेन्द्र यादवले अपहरणको आरोपसहित जाहेरी दर्ता गरेकामध्येका किसान श्रेष्ठ पनि मन्त्री बन्दैछन् । नेकपा एसले उनको नाम चयन गरिसकेको छ । किसानसँगै सुरेन्द्र मन्त्री बनेमा क्याबिनेटको बनोट रोचक हुनेछ ।

महोत्तरीबाट निर्वाचित सांसद सुरेन्द्र यादव ओली सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । उनी उपेन्द्र यादवका विश्वासपात्र मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot