चितवन, २३ असोज: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पारेका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, “राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन ।” संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै प्रचण्डले भने, “पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।”
संसद् अवरोधमा कुनै तर्क र तथ्य नरहेको बताए । लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै उनले भने, “लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ । अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ ।”
“सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको छ”, उनले भने, “जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ ।” अध्यक्ष दाहालले आफूहरुले सुरुदेखि नै खोपखोप भन्दै आएको बताउँदै खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा पर्ने धारणा राखे । उनले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिए ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवन जस्तो जिल्लामा गठनबन्धन भएर जाने बताए । उनले भने, “चितवन जस्तो जिल्लामा हामी समझदारीका साथ निर्वाचनमा जान्छौँ ।”-File Photo