Logo

‘प्रमोद राणाको निवासमा नै हमाललाई मन्त्री बनाउने’ सहमति गरिएको दाबी !



काठमाडौं, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएपछि अहिले राजनीति तातेको छ । खासमा हमाललाई मन्त्री बनाईउनु भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भाग दिएको भन्ने चर्चा छ । तर, नवनियुक्त मन्त्री हमाल स्वयम भने यसमा कुनै सत्यता नभएको दाबी गर्छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सपथ खाएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा समेत उनले आफू कांग्रेसको पूरानो नेता भएको र पार्टीमा लामो योगदान रहेको स्पष्ट पारेका थिए । नाताले हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्छन् ।

मन्त्रिमण्डल विस्तार हुनुअघि नै प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेका समाचार आएका थिए । समाचारको खण्डन गर्दै सर्वोच्च अदालतले प्रेस विज्ञप्तीसमेत जारी गरेको र बाहिर आएका समाचारमा कुनै सत्यता नभएको जिकिर गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पनि मिडियामा चलेको हल्लामा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

‘गजेन्द्र हमाल कांग्रेसको पूरानो नेता हो, उहाँ भिक्टिमाईज हुनुभएकोले सम्मान गरेर मन्त्री बनाईएको हो’ : मन्त्री रेग्मी

आजमात्रै पनि रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्री हमाल कांग्रेसकै पूरानो नेता भएको र हमाललाई सम्मानस्वरुप प्रधानमन्त्री देउवाले मन्त्री बनाएको बताएकी थिईन् । उनले हमालको कांग्रेसमा ठूलो योगदान रहेको तर लामो समयदेखि भिक्टिमाईज भएकोले सम्मान स्वरुप मन्त्री बनाईएको दाबी गरेकी छिन् ।

कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्नेछ : गगन थापा

उच्च स्रोतकाअनुसार हमाललाई मन्त्री बनाउनेबारे सत्तापक्षीय गठबन्धन बन्नुअघि नै शीर्ष नेताहरुबीच मोटामोटी सहमति भएको थियो । खासगरी प्रधानमन्त्री देउवाको ससुराली तर्फबाट नाता पर्ने प्रमोद राणाको महाराजगञ्जस्थित् निवासमा भएका बैठकमा हमाललाई मन्त्री बनाउनेबारे छलफल भएको र त्यतिवेला नै सहमति भएको स्रोतको दाबी छ । कतिसम्म भने राणाको उक्त निवासमा नै देउवाले प्रधानन्यायाधीश जबरासँग पटक–पटक छलफल गरेको स्रोतको दाबी छ ।

प्रधानन्यायाधीश जबराको बचाउमा प्रचण्डले भने, ‘हमाल कांग्रेस कोटाबाट नियुक्त भएका हुन्’

स्रोतले भन्यो,‘केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि देउवा र प्रधानन्यायाधीशबीच भेटवार्ता पनि प्रमोद राणाकै निवासमा भएको हो । यो भेटवार्ताको सिलसिला महिनौं चलेको थियो ।’ प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग नखोजेको भए मिडियामा चर्चा भएअनुसार हमाल नै किन मन्त्री बनाईए त ? यो विषयले गम्भीर प्रश्न उठाएको छ ।

प्रमोद राणाकै निवासमा नै प्रधानन्यायाधीश जबरालाई मन्त्रिदेखि राजदूतसम्म भाग दिनेबारे सहमति भएको र यसमा प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवपनि सहमत भएको स्रोतको दाबी छ । स्रोतले भन्यो,‘अहिले सत्तापक्षीय गठबन्धनमा आवद्ध कुनै दलले पनि हमाललाई मन्त्री बनाएको बारे विरोध गरेका छैनन् । सबै मौन छन् । हुँदाहुँदै आजबाट गठबन्धनमा आवद्ध दलका शीर्ष नेता र मन्त्रीहरुले नै हमालको मन्त्रीमा नियुक्तीलाई लिएर बचाउ गर्न थालेका छन् ।’

Photo Source: Ministry of Industries, Commerce & Supplies 



प्रतिक्रिया दिनुहोस्