Logo

चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत



एजेन्सी, २३ असोज । चीनले ताइवानमाथि आक्रमण गर्ने संकेत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनिफङले चीनको एकीकरण गर्ने भन्दै त्यस्तो संकेत गरेका हुन् ।

सन् १९११ को क्रान्तिको ११०औं वर्षगाँठमा आयोजित विशेष समारोहलाई शनिबार बेइजिङको ग्रेट हलमा सम्बोधन गर्दै सीले ताइवानको प्रश्न पुर्नएकीकरणका रुपमा हल हुने बताए । उनले ताइवानको विषयको मिसनलाई गम्भीर भन्दै देशलाई धोका दिनेले इतिहासको कठघरामा उभिनुपर्ने चेतावनी समेत दिए ।

चिनियाँ राष्ट्रपति सीले दिएको अभिव्यक्तिलाई ताइवानलाई चीनबाट अलग राख्न चाहने विदेशी शक्तिलाई समेत चेतावनीको रुपमा लिइएको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा आउने गरेको ग्लोबल टाइम्सले सीको अभिव्यक्तिमाथि टिप्पणी गर्दै चीनको पुनः एकीकरण प्रक्रियालाई कसैले रोक्न नसक्ने भनेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी सन् १९११ मा भएको क्रान्तिका नायक सन यात्सेनको विचार र चीनको एकीकरणको मिसनको विरासत भन्दै ग्लोबल टाइम्सले ताइवानको प्रश्न शान्तिपूर्ण माध्यमले हल होस् भन्ने चाहना भएपनि आवश्यक परे बल प्रयोग हुने विषय उल्लेख गरेको छ । सीले ताइवान चीनकै रहेको भन्दै गाभ्ने कडा सन्देश दिएका छन् ।

ताइवानको सवाल अबको दुई वर्षभित्र समाधान हुने ग्रेट हलको सम्मेलनमा सहभागीको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । सन् २०२४ भित्र गाभ्ने योजना समेत खुलाइएको छ ।

ताइवानले चीनले सन् २०२५ भित्र कब्जा गर्ने योजना बनाएको विषय बाहिर ल्याइरहँदा ग्रेट हलबाट नयाँ सन्देश प्रवाह भएको छ । चीनले पछिल्लो समय ताइवानको हवाई क्षेत्रमा युद्धक विमानहरु उडाउन थालेको छ । त्यसले उक्त क्षेत्रमा तनाव बढेको छ ।

यसैगरी, अमेरिका र यूरोपेली मुलुकहरुले ताइवानमाथि चीनले कुनैपनि बेला आक्रमण गर्न सक्ने भन्दै चासो बढाएको छ । फ्रान्सको टोली ताइवान पुगेको छ । अमेरिकाले असल मित्र भन्दै ताइवानलाई साथ दिने बताएको छ । यसले ताइवानको टापुमा तनावको स्थिति बढेको छ । त्यहाँ कुनैपनि बेला युद्धको खतरा छ ।

ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको छैन । तर, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रका रुपमा प्रस्तुत गर्दै आएको छ । ताइवानसँग ३ लाख सेना र शक्तिशाली हतियार छन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot