काठमाडौं, २३ असोज । निःशुल्क गुर्जो अभियन्ता कमल बहादुर राजलवटले आज एकै दिन काठमाडौंका विभिन्न ठाउँमा गुर्जोको चिया सेवन गराउनुको साथै उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया प्याकेट, गुर्जोको बेर्ना तथा पत्थरचट्टा बेर्ना निःशुल्क वितरण गरेका छन् । अहिले दसैंको मुखमा काठमाडौंका विभिन्न चोकमा किनमेल गर्नेको भीड छ । तर, अभियन्ता राजलवट भने आज (शनिबार) विदाको समयलाई गुर्जोको महत्वको बारेमा प्रकाश पार्न व्यस्त देखिएका छन् ।
उनले आजै एकै दिन पशुपतिनाथ मन्दिर परिसरमा जुटेका सरसफाई अभियान्ताहरु, न्यूरोडस्थित् योग साधना केन्द्र, बिष्णुमति सरसफाई अभियान, गोगंवु, बाग्मती सफाई महाअभियान, तिलगंगा, मनहरा सफाई अभियान, बालकुमारी, पञ्च कुमारी श्रद्वा प्रतिष्ठान, थापा गाउँ लगायत विभिन्न सात ठाउँमा गुर्जो चिया खुवाउदै गुर्जो चिया प्याकेट तथा गुर्जो बेर्ना र पत्थरचट्टा बेर्ना बितरण गरेका थिए । उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यदेखि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसम्मलाई गुर्जोको चिया खुवाएका थिए ।