काठमाडौं, २४ वैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा घेराबन्दीमा परेका छन् । उनी अदालत भित्र र बाहिर दुवैतिरबाट घेराबन्दीमा परेका हुन् ।
बाँके काँग्रेसका पूर्वसभापति गजेन्द्र हमालको मन्त्री नियुक्तिमा जबरालाई मुछियो । नाताले जेठान पर्ने हमालको नियुक्तिमा जबराको भूमिका रहेको चर्चा चल्यो । हमालले आजै पदबाट राजीनामा दिएका छन् । हमालसँग जोडेर उनको राजीनामा माग्ने सम्मका घटनाहरु विकास भए ।
प्रधानन्यायाधीश जबरा प्रत्यक्ष अप्रत्यक्ष राजनीतिमा मुछिएको विषय पनि आयो । उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएको नियुक्ति सिफारिशमा भागवण्डा लिएर भूमिका खेलेको आरोप लाग्यो ।
प्रतिनिधि सभा दुईपटकको विघटन र असंवैधानिक ठहर देखि नेकपा विभाजनमा समेतको घटनामा जबरालाई विवादमा तानियो । अदालतको भूमिकामाथि प्रश्नहरु गरिए । जसमा पूर्वप्रधानन्यायाधीशहरुले अगाडि देखिए ।
सर्वोच्च अदालतमा अझै प्रभाव राख्ने गरेका पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की जबराविरुद्ध लागेको चर्चा छ । उनीहरु राणालाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन चाहिरहेको विषय उठ्दै आएको छ । पूर्वप्रधानन्यायाधीशहरु श्रेष्ठ र कार्की प्रधानन्यायाधीश जबराप्रति कठोर बन्दै आएका छन् । उनको विवादमा पर्ने गरेको कुनैपनि कदममा यी दुई न्यायाधीशले प्रश्न उठाइहाल्छन् ।
यसरी अदालतभित्रै जबरालाई घेराबन्दीमा पारिएको छ । उनलाई अल्पमतमा पारेर अप्ठ्यारोमा पार्ने गतिविधिहरु पनि बढेका छन् । संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्तिको विषयमा अदालतमा विचाराधीन मुद्दा पनि जटिलतातर्फ बढेको छ । यसमा प्रधानन्यायाधीश जबराले अदालतको एउटा ठूलो पंक्तिको चुनौती सामना गरिरहेका छन् ।
प्रधानन्यायाधीश जबराप्रति नेकपा एमाले पनि अनुदार देखिनथालेको छ । एमालेको केपी शर्मा ओलीनिकट राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले राजीनामा नै मागेका छन् । जबराले संवैधानिक निकायमा भाग लिएको भन्दै उनीमाथि घेराबन्दीसहित निरन्तर आक्रमण भइरहेको छ । शक्तिका हिसाबले जबरा अहिलेसम्मकै शक्तिशाली प्रधानन्यायाधीश बनेका छन् । उनको राजनीतिमा विभिन्न तरिकाले भूमिका देखिने गरेको छ ।
जबरा शक्तिशाली त बनेका छन् । उनीमाथि शक्तिकेन्द्रहरुको प्रहार र घेराबन्दी बढ्दै गएको छ । उनलाई यी प्रहार थेग्न सजिलो छैन । पदबाटै हटाउने रणनीतिका साथ उनीमाथि घेराबन्दी र आक्रमण बढेको देखिन्छ ।