नेता गुरुङले संसद् सञ्चालनका लागि सत्तापक्ष र विपक्ष दुवैको बराबर जिम्मेवारी हुने भए पनि एउटा पक्षले अवरोध गरेको गर्यै गर्दा शंका उत्पन्न भएको बताए । उनले थपे, “अमूर्त रुपले कुरा उठाएर अन्त्यहीन रुपमा सदन अवरुद्ध गरेर एमालेले सिस्टमभित्र समाधान खोजेको छैन । यो उसको संसद्लाई पूरा कार्यकाल बिताउन नदिने षडयन्त्र हो । उसले संसद् विघटन गर्न चाहेको छ र सिस्टममाथि नै आक्रमण गरेको छ । यो मुलुक र जनताप्रतिको दायित्व र गम्भीरता भएन । यो राष्ट्रिय स्वाधीनतामाथि हमला हो । यसले त अन्ततः संकटकाल लगाएर विदेशी शक्ति केन्द्र प्रवेश गर्नेतिर लैजान्छ ।”
एमसीसी सैन्य गठबन्धनको योजना भएकाले स्वीकार गर्न नहुने उनले बताए । उनले भने, “एमसीसी असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत छ । सार्वभौम अधिकार खण्डित बनाउने गरी संसद्लाई एमसीसी अनुमोदन गराउने अधिकार छैन ।”