Logo

दशैं पछि राजनीतिमा के के होला ?



समाचार विश्लेषण, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । तर, मन्त्री नियुक्ति विवादमुक्त बन्न सकेन ।

दशैंको मुडमा सबै रहेकाले सत्ता गठबन्धनका दलहरुमा विवाद खासै सुनिएको छैन । यद्यपि, जनता समाजवादी पार्टीमा मन्त्री नियुक्तिको विषयमा व्यापक विवाद भइसकेको छ । बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा ताला लगाउने र तोड्ने होडबाजी चलेको छ ।

काँग्रेसभित्र मन्त्रीको विषयले विवाद भएपछि कोइराला परिवार विभाजित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि छिन्नभिन्न भएको छ । यसले काँग्रेसको महाधिवेशन मात्र नभई आगामी चुनावसम्म ठूलो असर पर्न सक्छ ।

दशैं तिहार र छठलगत्तै काँग्रेसको महाधिवेशनका लागि बाँकी रहेका वडा, पालिका र जिल्ला तहका चुनाव हुनेछन् । त्यसले महाधिवेशन सर्ने, आमचुनावपछि मात्र हुने या चाँडै हुने निक्र्यौल हुनसक्छ । यो निर्णयले पनि काँग्रेसको राजनीतिमा नयाँ परिदृश्य देखिनसक्छ ।

देउवा अर्ली इलेक्शनमा देशलाई लाने प्रयासमा छन् । गठबन्धनका माओवादी, नेकपा एस र जसपा त्यसको विरोधमा छन् । एमसीसीको पक्षमा काँग्रेस छ । तर, माओवादी र नेकपा एस विरोधमा छन् । यसले पनि नयाँ विवाद सृजना हुनसक्छ ।

गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भनेका छन् । हुनपनि विचार नमिल्ने दलहरुको घटनाक्रमले सत्ता गठबन्धन बनाएको छ । तर, चतुर नेता मानिएका प्रचण्डले नयाँ रणनीति चाल्न सक्छन् । उनी पूर्वमाओवादी मिलाएर माधव नेपालसँग चुनावी गठबन्धनसम्म जान खोजेका छन् । यो एकताले उनी २०६५ सालको जस्तो शक्तिशाली बन्ने महत्वाकांक्षामा छन् ।

एकातर्फ, नेकपा एमाले संसदमा अवरोध गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली ताजा जनादेशको रटान लगाइरहेका छन् । उनको संसदको अवरोध यही उद्देश्यतर्फ बढेको देखिन्छ । ओली ताजा जनादेश भनिरहँदा देउवाको चाहना पनि त्यस्तै छ । रणनीतिक हिसाबले दुवैको मत एक छ । तर, गठबन्धन उनको आवधिक चुनावको पक्षधर प्रचण्ड र माधव नेपालसँग छ । यसले भविष्यमा नयाँ द्वन्द्व निम्त्याउन सक्छ ।

जसपाबाट फुटेको लोकतान्त्रिक समाजवादी पार्टी मधेशको तल्लो इकाईमा सक्रिय छ । मधेश केन्द्रित नेताहरुको फुटले निरन्तरता पाएमा त्यहाँको चुनावी नतिजा विगतभन्दा फरक हुन्छ । मधेशमा बलियो आधार बनाएको काँग्रेसले यसको लाभ लिनसक्छ । तर, फरक ढंगले मधेशमा गठबन्धन बनेमा काँग्रेसलाई सजिलो हुनेछैन ।

सामरिक महत्वको भएकाले नेपालमा शक्तिराष्ट्रको चासो बढी छ । भारतको चासो बढ्दो छ । चीनको फैलदो प्रभावलाई रोक्न अमेरिकाले भारतसँग मिलेर दक्षिण एशियामा भूमिका खेल्न खोजेको छ । त्यसमा यूरोपेलीहरु पनि नजिक आइपुगेका छन् । चीनको आक्रामक विदेश नीतिले अफगानिस्तानबाट अमेरिकी सैनिक उक्त देश छाड्न वाध्य भएको छ । यी घटनाको बाछिटा नेपालमा परिसकेको छ । बलिया देशहरुको चासो र प्रभावले नेपालको राजनीतिमा ठूलो असरहरु देखिनथालिसकेको छ । दलहरुबीच र दलहरुभित्र शक्तिसंघर्ष चर्कदै गएको छ । राजनीतिक तरलता यसरी बढ्ने देखिन्छ कि कुन नेता कतिबेला असफल हुने र कस्को उदय हुने अवस्था विकास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्